९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

सांसदबाट सामूहिक राजीनामा दिने तयारीमा माधव पक्ष



काठमाडौं ।
२७ वैशाखमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै एमालेको माधव नेपाल पक्षका सांसद सामूहिक राजीनामा गर्ने छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्न नेपाल पक्षले यस्तो निर्णय लिने गरी छलफल अगाडि बढाएको हो । नेपालनिकट स्रोतका अनुसार सांसदबाट राजीनामा गर्ने राजनीतिक निर्णयबारेमा छलफल भइरहेको छ । तर, यसबारेमा टुंगो लागिसकेको छैन ।

नेपाल पक्षका सांसदमध्ये कम्तीमा २० जनाले राजीनामा दिएको अवस्थामा विपक्षी गठबन्धनलाई सरकार बनाउन सहज हुनेछ । त्यो अवस्थामा संसदमा २ सय ५१ जना सांसद हुनेछन् । र, कायम रहेको सांसद संख्याको बहुमतले सरकार बनाउने हुन्छ । त्यसअनुसार १ सय २८ जना भए बहुमत पुग्छ । त्यसका लागि कांग्रेस–माओवादी गठबन्धनसँग रहेको १ सय ९ सिटमा १९ जना सांसद भए पुग्छ ।

जसपाको उपेन्द्र–बाबुराम भट्टराई पक्षका १८ सांसद र जनमोर्चाको १ सांसद जोड्दा बहुमत संख्या पुग्न सक्छ । सरकार बन्ने अवस्था आउँदा उपेन्द्र यादव पक्षका सांसदको संख्या २२ सम्म पुग्न सक्ने विश्लेषण छ ।

२७ वैशाखमा विश्वासको मत लिनु ठीकअघि अर्थात् त्यसैदिन बिहान नेपाल समूहका ३० जना सांसदहरूले राजीनामा दिएको अवस्थामा ओलीलाई थप समस्या पर्नेछ । ३० जनामध्ये ९ जना समानुपातिक सांसद छन् । त्यसैले २७ वैशाखकै बिहान राजीनामा दिएको अवस्थामा ओलीले समानुपातिक सांसदका पूर्ति गर्न सम्भव हुँदैन । त्यसले ओलीलाई झन् समस्या पार्नेछ ।

विपक्षी गठबन्धनको सरकार बन्ने अवस्था आएमा ओली सत्ताबाट त ओर्लिने छन् नै ओलीको अहंम पनि ओरालो लाग्ने विश्लेषण माधव पक्षका नेताहरूको विश्लेषण छ । ओलीले राजनीतिक जीवनकै हत्या गर्न लागेको भन्दै माधव नेपाल पक्षका नेताहरू ओलीलाई सत्ताबाट ओराल्न जुनसुकै राजनीतिक निर्णय लिन सक्ने बताइरहेका छन् ।

शिलापत्रसँग कुराकानी गर्दै एक स्थायी समिति सदस्यले भने, ‘ओलीले पेलेर भित्तामा पुर्‍याइसकेका छन्, ४०(५० बर्षको राजनीतिक जीवनकै हत्या नै गर्ने अवस्थामा पुगेका कारण जुनसुकै राजनीतिक निर्णय लिन सकिन्छ ।’

लुम्बिनी प्रकरणझै हुन नदिने

एमालेभित्रको किचलो चलिरहने र माधव नेपाल समूहले प्रष्ट निर्णय २७ वैशाखसम्म गर्न सकिने भने जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको समर्थनमा पुनः बहुमतको सरकारको सपथ लिन सक्छन्, जसरी लुम्बिनी प्रदेशमा शंकर पोखरेलले लिए ।

एमालेभित्रै पनि लुम्बिनी प्रदेश रिर्हसलको रुपमा व्याख्या भइरहेको छ । लुम्बिनी प्रदेशमा शंकर पोखरेलले सपथ लिएझैँ ओलीले सपथ लिन सक्ने सम्भावनाको बाटो रोक्न पनि माधव समूहका सांसदले सामूहिक राजीनमा दिनुपर्ने हुन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी ओलीको ‘एसम्यान’ भएकाले ओलीले त्यो कदम नउठाउलान भन्न सकिन्न । जसपाको ठाकुर–महतो पक्षका सांसदको हस्ताक्षर पनि त्यही प्रयोजनका लागि संकलन हुन थालेको टिप्पणी एमालेभित्रै भइरहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८ मंगलबार ००:००  २ : २७ बजे