९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

दाङको कोरोना अस्पताल बेलझुण्डीमा अक्सिजन अभावः ४० बिरामीको ज्यान जोखिममा



दाङ ।

कोरोना विशेष अस्पताल बेलझुन्डीमा अक्सिजन अभाव भएको छ । अक्सिजन नभएपछि ४० बिरामीको ज्यान जोखिममा रहेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए । अहिले अस्पतालमा रहेका ५९ बिरामीमध्ये ४० जनालाई अक्सिजन आवश्यक रहेकोमा मौज्दात रहेको अक्सिजन पनि सकिएको उनले जानकारी दिए ।

‘हिजो रातिदेखि नै अक्सिजनको व्यवस्था गर्न अनुरोध गरे पनि कसैले केही गर्न सकेन । अहिले एक्कासि अक्सिजन सकियो,’ उनले भने, ‘अहिले स्थिति संकटपूर्ण छ । बिरामी बचाउन गाह्रो भयो ।’
यो अस्पतालमा शनिबार मात्रै १० आईसीयू, ५० एचडीयू र ४० सामान्य गरी १ सय शय्या तयार पारिएको थियो । यसअघि ५ आईसीयू र ३० सामान्य गरी ३५ शय्या मात्रै थिए ।

शय्या विस्तार भए पनि अक्सिजन नभएपछि नयाँ बिरामी भर्ना गर्न नसकिएको उनले बताए । ‘अहिले अस्पतालको गेटमा कोरोना संक्रमित बिरामीहरू उपचार पाउने आसमा पर्खिरहेका छन्,’ उनले भने, ‘कतिपयको अवस्था निकै गम्भीर भए पनि अक्सिजन अभावमा अस्पतालभित्र लैजान सकिएको छैन ।’

प्रकाशित मिति : १९ बैशाख २०७८ आइतबार ००:००  १ : ४४ बजे