९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आज लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन, टिक्ला मुख्यमन्त्री पोखरेलको सत्ता ?



काठमाडौं ।
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज शुरु हुँदैछ । अविश्वास प्रस्तावमा निर्णय गर्न बोलाइएको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव आजकै बैठकमा पेश हुने छ । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले प्रस्ताव पेश गर्ने कार्यसूची छ । प्रस्तावमा विभिन्न दलका सांसदले आफ्नो धारणा राख्नेछन् । त्यसपछि मुख्यमन्त्री शंकर पोखरेलले सोमबार जवाफ दिनेछन्। मुख्यमन्त्रीले जवाफ दिएपछि मतदान हुने कार्यसूची तय गरिएको छ ।

शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले कोरोना संक्रमणको कारण एकै दिनमा प्रस्तावको टुंगो लगाउन भनेका थिए । तर एमालेले असहमति जनाएपछि दुई दिनमा टुङ्गो लगाउने कार्यसूची तय गरिएको हो ।

बैशाख ६ गते कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । हस्ताक्षर गरेका मध्ये जनता समाजवादी पार्टीका चीन सांसद मन्त्री बनेका छन् । यी तीनसहित जसपाका चारजना पदमुक्त भइसकेका छन् ।

यस अघि ८७ सदस्य रहेको प्रदेशसभामा अब ८१ सांसद भएका छन् । अविश्वासको प्रस्ताव पारित हुन ४१ सांसद आवश्यक पर्दछ । सत्तारुढ नेकपा एमालेसँग ४१ सांसद छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १७, कारबाही पछि जसपाका २ र राष्टिय जनमोर्चाका १ सांसद छन ।

फ्लोर क्रस नभए मुख्यमन्त्री पोखरेल सुरक्षित छन् । एमालेका २ जना सांसद नेपाल खनाल पक्षमा खुलेका छन् । कर्णाली प्रदेशमा जस्तै फ्लोर क्रस भए मुख्यमन्त्री पोखरेललाई अप्ठेरो पर्नेछ ।

प्रकाशित मिति : १९ बैशाख २०७८ आइतबार ००:००  ७ : १८ बजे