९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बुटवल कोरोना विशेष अस्पतालमा ३६ बेडसहितको एचडीयू सञ्चालनमा



बुटवल ।

लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत बुटवलको कोरोना विशेष अस्पतालमा ३६ बेडको हाई डिपेन्डेन्सी युनिट एचडीयू सञ्चालन भएको छ । अक्सिजन दिनुपर्ने बिरामीको संख्या बढेपछि अस्पतालले सामान्य आइसोलेसनलाई एचडीयूमा परिणत गरेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। राजेन्द्र खनालले अक्सिजन र बेड अभावमा बिरामीको मृत्युदर बढेकाले सामान्य आइसोलेसन बेडमा अक्सिजन जोडेर शनिबारदेखि एचडीयू सेवा सुरु गरेको बताए ।

यस अस्पतालमा एचडीयू बेड थप गर्न यसै साता लुम्बिनी प्रदेश सरकारले ५० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको थियो । तत्काल कोरोना पोजिटिभ भए पनि अस्पतालको आकस्मिक कक्ष र फिभर क्लिनिकमा बसेर उपचार गराएका बिरामीलाई धागो कारखानास्थित एचडीयूमा स्थानान्तरण गर्ने खनालले बताए ।

यसअघि यस अस्पतालमा १६ बेड आईसीयू, ३ एचडीयू र ३६ बेड सामान्य आइसोलेसन रहेको थियो । अस्पतालमा रुपन्देहीसहित कपिलवस्तु, पश्चिम नवलपरासी, गुल्मी र अर्घाखाँचीका बिरामी उपचारका लागि आउने गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७८ शनिबार ००:००  ३ : २३ बजे