दाङ ।
दाङमा दिन प्रतिदिन कोरोना भाइरसका सङ्क्रमितहरू बढिरहँदा स्वास्थ्य सेवा भयावह बन्ने अवस्था देखिन थालेको छ । सङ्क्रमित बढिरहँदा जटिल प्रकारका बिरामीहरू राख्ने ठाउँको समेत अभाव भएको छ ।
दाङमा कोरोना सङ्क्रमिको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार भइरहेको छ । केही दिनयता घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि सङ्क्रमितको उपचार गर्न सुरु गरेको छ । तर यी दुवै अस्पताल कोरोनाका जटिल बिरामीले भरिएको छ । अन्य धेरैजसो सङ्क्रमित घरमै रहेका छन् । तर घरमा भएका सङ्क्रमितबाट अरूमा पनि सङ्क्रमण देखिँदै जाने हो भने उनीहरूलाई उपचार गर्ने अस्पतालको समेत अभाव छ । कोरोना सङ्क्रमित बढिरहँदा समेत पालिकाले सङ्क्रमितलाई राखेर उपचार गर्ने अस्पताल बनाउन ध्यान दिन सकेका छैनन् । कोरोना विशेष अस्पतालमा बेड अभाव हुन थालेको छ।
दाङको बेलझुन्डीस्थित लुम्बिनी प्रदेशस्तरीय कोरोना विशेष अस्पतालमा बेड अभाव हुँदा कतिपय बिरामी भुइँमा बसेर उपचाररत छन्। अस्पतालमा भएका बेड संक्रमितले भरिभराउ भए पनि उपचारको अर्को व्यवस्था हुन सकेको छैन। व्यवस्थापक द्रोणबहादुर ओलीले २५ बेड क्षमताको अस्पतालमा आन्तरिक व्यवस्थापनबाट ३८ बेड पुर्याएर बिरामीको उपचार गरिरहेको जानकारी दिए । तर बिरामीको संख्या दिन–प्रतिदिन बढ्दै गएपछि भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता आइपरेको व्यवस्थापक ओलीको भनाइ छ। अस्पतालको ढोकामा आएर बिरामी बसेपछि हामीले बेड छैन भनेर कसरी फर्काउनु ओलीले भने, प्रदेशस्तरीय अस्पताल भनेपछि अन्य जिल्लाबाट पनि बिरामी आएका छन्। हामीले कसरी मिलाएर उपचार गराउने हो समस्या भएको छ। अक्सिजन बिना उपचार सम्भव छैन। भुइँमा राखेर उपचार गर्न पनि गाह्रो भयो। सरकारले यसमा चासो दिनुपर्यो उनले भने ।
दिनहुँ बढिरहेको सङ्क्रमितको सङ्ख्याले दाङको पनि नेपालगञ्जको जस्तै अवस्था बन्ने हो कि भन्ने त्रास नागरिकमा फैलिन थालेको छ । दिन प्रतिदिन बढिरहेको कोरोना सङ्क्रमितको ग्राफले पनि त्यो सङ्केत देखाएको छ । यस्तै बढ्दै जाने हो भने यहाँ कोरोना नियन्त्रणबाहिर जान्छ । त्यसपछि केही गर्ने अवस्था हुने छैन अर्का चिकित्सकले भने ।
सोमवार मात्र दाङमा एक सय ५२ जना कोरोना सङ्क्रमित थपिएका छन् । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षण गरिएकामध्ये ७५ प्रतिशतभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमवार पीसीआर परीक्षण गरिएका दुई सय दुईमध्ये एक सय ५२ जनामा सङ्क्रमण देखिएको हो ।
अहिलेसम्म दाङमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या चार हजार दुई सय सय १४ रहेको छ । यसैगरी तीन हजार ६ सय ८३ जना कोरोनामुक्त भएका छन् । यस्तै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ६१ पुगेको छ ।
लुम्बिनी प्रदेश सरकारले कोरोनाको उपचारलाई थप प्रभावकारी बनाउन प्रदेशभित्रका तीन कोरोना विशेष अस्पताललाई ५० लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने भएको छ ।
मुख्यमन्त्री शङ्कर पोख्रेलका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार दाङ, बाँके र बुटवलमा रहेका कोरोना विशेष अस्पताललाई ५० लाख रुपैयाँका दरले र भैरहवामा रहेका भीम अस्पताललाई २५ लाख रुपैयाँ गरी एक करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउने भएको छ । त्यसैगरी प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया