८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

चार कोरोना विशेष अस्पताललाई लुम्बिनी सरकारले १ करोड ७५ लाख दिने



बिष्णु कुमार, अर्घाखाँची ।
कोरोना संक्रमितहरुले अस्पतालमा बेड नपाएर भुँईमै प्राण त्याग्नु पर्ने अवस्था आएपछि लुम्बिनी प्रदेश सरकारले प्रदेशका चारवटा कोरोना विशेष अस्पताललाई १ करोड ७५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
अस्पतालमा बेड नपाएर संक्रमितहरु घरघरमै मृत्यु हुन थालेपछि प्रदेश सरकार तातेको हो । कोरोना संक्रमितको उपचारलाई थप प्रभावकारी बनाउन बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पताल, दाङ बेलझण्डीस्थित कोरोना अस्पताल र बाँकेस्थित भेरी अस्पताललाई ५० लाखका दरले र भैरहवा स्थित भिम अस्पताललाई २५ लाख सहित एक करोड ७५ लाख प्रदेश सरकारको तर्फबाट उपलब्ध गराउने निर्णय भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
प्रदेश सरकारले उपलब्ध गराउने रकम रकमान्तर गरी तत्काल उपलब्ध गराउने निर्णय भएको सल्लाहकार केसीले बताए ।
अस्पतालमा बेड नपाएर संक्रमितको मृत्यु भएको र अस्पतालमा बेड नपाएर होम आइसोलेसनमा संक्रमितले आत्महत्या गरेको खबर सार्वजानिक हुँदा प्रदेश सरकारले उपचार थप प्रभावकारी बनाउन अस्पताललाई रकम दिने भएको हो । १६५ बेड क्षमता भएको भेरी अस्पतालमा २०३ जना संक्रमितको उपचार भईरहेको छ भने लुम्बिनी प्रदेशका चारवटै कोभिड अस्पतालमा आईसीयू बेड संक्रमितले भरिएका छन् । ती अस्पतालहरूमा आवश्यक बेड र अक्सिजनको अभाव भईरहेको चिकित्सकहरूले जनाएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७८ मंगलबार ००:००  ७ : ०८ बजे