चन्द्रकान्त न्यौपाने, चारनम्बर ।
सोमबार एक अनलाइनले लेखेको समाचारले लुम्बिनी प्रदेश तात्यो । मुख्यमन्त्री शंकर पोख्रेलले फेरि पनि मन्त्रीमण्डलको आकार बढाउने तयारी गरेको र त्यसमा एमाले माधव नेपाललाईनका कट्टर भनिएकाहरु मन्त्रीको लाइनमा रहेको भन्ने बुटवलको एक अनलाइनले समाचार सार्वजनिक गरेपछि लुम्बिनीको महौल तातेको हो ।
सो अनलाइनको समाचार अनुसार केहीदिन अघि जसपाका सांसद थपेर मन्त्रीमण्डल विस्तार गरेका मख्यमन्त्री शंकर पोख्रेलले चाँडै मन्त्रीमण्डल विस्तार गर्न लाग्नु भएको छ । माओवादी, काँग्रेश र जसपाले अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको अवस्था मुख्यमन्त्रीले आफू थप बलियो भएको देखाउन मन्त्री थप्ने योजनामा रहेको बताइएको छ । त्यसमा फ्लोर क्रस गर्ने सम्भावनामध्येका नेपाल लाइनका सांसद विष्णु पन्थीलाई मन्त्री बनाउने कुरा लेखिएपछि पार्टीपंतीदेखि सामाजिक संजालमासमेत तात्यो ।
प्रदेश सभामा आफू थप सुरक्षित भएको देखाउन मुख्यमन्त्री पोख्रेलले सो कसरत गरेका उक्त अनलाइनले लेखेको छ । सांसद विष्णु पन्थी नेपाल लाइनका कट्टर नेता मानिन्छन् । अब विस्तार हुने मन्त्रीमण्डलमा पन्थीलाई अर्थमन्त्री या स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमध्ये छानेर मन्त्री दिइने उल्लेख छ ।
मुख्यमन्त्री शंकर पोखरेलले आफुसंगै राखेको आर्थिक मामिला तथा योजना मन्त्रालय केही दिन अघि सरकारका प्रवक्ता समेत रहेका बैजनाथ चौधरीलाई सुम्पेका थिए । अब थप्ने मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या र सहरी बिकास तथा गरिवी निवारण रहेका छन् । त्यसमा सांसद पन्थीसहित माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका दधिराम न्यौपाने (माधव शर्मा) संगै प्युठानका हरी रिजाललाई समेटिने बताइएको छ ।
मन्त्री बन्न पार्टिका मुख्य सचेतक भुमिश्वर ढकालदेखि अर्घाखांचीका चेतनारायण आचार्य बर्दियाका बलदेव पोखरेलसम्म आकांक्षी छन् । त्यसमाथी केही राज्यमन्त्री र सहायक मन्त्री पनि थप्ने चर्चा छ ।
यस्तो हल्ला बाहिर आएपछि कुरो के हो ? भनेर पन्थीलाई मायादेवीले जिज्ञासा राख्दा मन्त्री बन्ने हल्ला निराधार भएको बताउनु भयो । उहाँले भन्नुभयो– ‘यो हल्ला निराधार हो । मिडियाले चर्चामा आउन लेखेका हुन् । अहिले ओलीले मुख्यमन्त्री नै दिन्छु भने पनि त्यो सम्भव छैन । त्यो त्यस्तै खाले मिडियाले लेखेको समाचार हो । त्यसमा सत्यता छैन ।’
अर्थमन्त्रीको प्रस्ताव आएको हो ? भन्ने मायादेवीको प्रश्नमा उहाँले त्यो स्वभाविक भएको बताउनु भयो । उहाँले थप्नुभयो ‘मन्त्री मन्न उताबाट अफर आएको छ । राम्रा मन्त्रालयको नै अफर छ । तर त्यो अहिले सम्भव छैन । पार्टी एक भएको अवस्थामा मात्रै त्यो सम्भव होला ।’ उहाँले थप्नुभयो ‘कसैले दिएर मन्त्री लिने मान्छे होइन म, म आफै मन्त्रीको लागि क्यापेवल छु । समयआउँदा मन्त्री बन्छु । तपाई हल्लाको पछि नलाग्नूस् ।’
उहाँले अब पार्टी एक हुनुको विकल्प नरहेको भन्दै हर समय आफूले एकताको लागि प्रयास गरिरहेको बताउनु भयो । संसद अधिवेशन आह्वान भए तपाइले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुहुन्छ ? भन्ने प्रश्नमा उहाँले पार्टीको निर्णय जे हुन्छ तयो मान्ने बताउनु भयो । धेरैले सांसद पन्थीले फ्लोर क्रस गर्न सक्ने लख काटिरहेका छन् ।
पन्थीकै कारण मुख्यमन्त्रीमा शंकर पोख्रेल डेञ्जर जोनमा छन् । त्यसैले गर्दा पनि मुख्यमन्त्रीलाई पन्थीको डर छ । यस कारण पनि अहिले पन्थी ओली गुटको टाउको दुखाई बनेका छन् । श्रोतका अनुसार अविश्वास प्रस्तावको छिनोफानो हुनासाथ मन्त्रीपरिषद पुर्नगठन हुने छ । त्यसका लागि करिब ३० दिनजति समय लाग्ने मुख्यमन्त्रीको सचिवालयले बताएको छ ।
प्रतिक्रिया