मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा आजका परीक्षा नरोकिने भएका छन् । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्न सिफारिस मात्र गरेको र यो मन्त्री परिषद्को निर्णय नभएकाले आजका परीक्षा नरोकिने भएको हो ।
सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको विहानी कार्यक्रम समय संवादसंग सोमबार विहान कुरा गर्दै जनता मावि पिपराका प्रधानाध्यापक रमेश पन्थीले नगरले परीक्षा नरोक्न भनेकाले आफूहरु परीक्षा चलाउनुपर्ने स्थितिमा रहेको बताउनु भएको हो । परीक्षा स्थगित गर्ने मन्त्री परिषद्को निर्णय आए नगरपालिकाको अर्को निर्णय नकुर्ने अन्यथा नगरले आइतबार गरेको निर्णय बेगर नजाने पन्थीले बताउनु भयो । बाणगंगाका सबै नीजि र सामुदायिक विद्यालयमा आजका परीक्षा चल्ने बताउँदै द्धिविधामा नरहन उहाँले अभिभावक र विद्यार्थीलाई आग्रह गर्नुभयो । त्यसपछिका परीक्षाका विषयमा नगरसंग छलफल गर्ने उहाँले प्रष्ट्याउनु भयो । नगरको विपद् व्यवस्थापन समितिको वैठकले आइतबार परीक्षा सकेर मात्र विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
तलको लिंकमा भिडिओ हेर्न सक्नु हुने छ ।
प्रतिक्रिया