काठमाण्डौँ ।
सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राख्ने निर्णय भएको सीसीएमसी सचिवालयका संयोजक डा. खगराज अधिकारीले जानकारी दिए ।
कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक आदेश गर्दै उपत्यकासहित ठूला शहरहरूमा विद्यालय बन्द गरेको सरकारले चालु परीक्षाहरू नरोक्ने निर्णय गरेको थियो ।
तर परीक्षाका नाममा भीडभाड भएको भन्दै सीसीएमसीले तत्कालका लागि सबै परीक्षा रोक्नुपर्ने निष्कर्ष निकालेको छ ।
यसैबीच विद्यार्थी भने अन्यौलमा परेका छन् । कपिलवस्तुका बिभिन्न पालिकाले हिजोदेखि परीक्षा सुरु गरेका थिए । सरकारको यो निर्णयपछि विद्यार्थी परीक्षा दिन जाने कि नजाने भन्नेमा अन्यौल छन् भने अभिभावक पनि के गर्ने द्धिविधामा छन् ।यता त्रिवीले आज हुन परीक्षा नरोक्ने बताएको छ ।
सीसीएमसीका सिफारिस केके छन् ?
बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ । पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको एक अधिकारीले जानकारी दिए । सिससिएमसीले ३ हप्ता लकडाउन गर्न पनि सरकारलाई सिफारिस गरेको छ । यो सिफारिसलाई सरकारले सदर गरे अब वैशाख मसान्तसम्म देशभर लकडाउन हुने छ । यदि यो गर्न नसकिए संक्रमण देखिएका स्थानमा तत्काल लकडाउन र आवश्यकताअनुसार निशेधाज्ञा जारी गर्न पनि सिफारिस गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।यस्तै हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ । ट्रान्सजिट उडान रोक्न र स्थलमार्गबाट हुने आवागमनमा पनि कडाइ गर्न पनि सिफारिस भएको छ ।
प्रतिक्रिया