चन्द्रकान्त न्यौपाने, चारनम्बर ।
देशब्यापी कोरोनाको दोश्रो लहर फैलिरहेको छ । दिनप्रतिदिन संक्रमति हुने र मृत्यु हुनेको संख्यापनि बढेको बढ्यै छ । कोरोनाको हस्टपट बनेका नेपालगंज, वीरगंज, बुटवल लगायतका स्थानमा कोरोना अस्पतालमा विरामीको यतिसम्म चाप छ कि कतिले उपचार नपाएर ज्यान गुमाउन बाध्य भएका छन् ।
भर्ना हुन नपाएपछि अस्पतालको बाहिरै स्ट्रेचरमा विरामी रात कटाउन बाध्य छन् । कतिपय स्थानमा कोरोनाबाट मृत्यु भएकाको शव ब्यवस्थापनमा समेत समस्या भएको छ ।
कोरोनाले अनेक पीडा दिने क्रममा कपिलवस्तुको बाणगंगा नगरपालिकामा शनिबार फरक खालको घटना भएको छ । वडा नम्बर ४ चारनम्बरस्थित केसी परिवारमा कोरोनाले यस्तो पीडा दियो कि विहेको जन्ती जान्न ठिक्क परेका परिवारका सदस्य मलामी जान बाध्य हुनु पर्यो ।
यस क्षेत्रकै नामुद ब्यापारीको रुपमा चिनिएका केसी परिवारमा विहे पनि फरक खालको हुँदै थियो । एक दिनको अन्तरमा छोरा र छोरीको धुमधामसंग विहे हुँदै थियो । छोरीलाई शुक्रवार राती नै टिकाटालो गरेर अन्माइसककिएको थियो । त्यसको एक दिनपछि वैशाख ११ गते शनिबार छोराको जन्ति जाने तयारी थियो । त्यसैको तयारीमा तिन तले घर रंगिएको थियो । बत्तिले झिलीमिली थियो ।
विहेमा आउने आफन्तका सवारीले चार नम्बर तौलिहवा रोड भरिँदै थियो । अर्कोतिर रंगीचंगी टेण्ट टाँगिँदै थियो । काम गर्नेले काम गरिरहेका थिए । आउनेहरु शुटबुटमा ठाँट्टिएर आउँदै थिए । त्यसैबेला त्यो घरमा एक्कासी शोकको सन्नाटा छायो । अर्थात् घरका परिवारका एक सदस्यको कोरोनाको कारण काठमाण्डौँमा ज्यान गयो ।
उपचाररत ५२ वर्षका पुरुषको अप्रत्याशित देहान्त भएको खबर आएपछि त्यहाँको माहौल एकाएक आँसुमा परिणत भयो । यो खबरले खुसीको संसारमा रमाएको केसी परिवारमा रुवाबासी चल्न थाल्यो । मानिसहरु भक्कानिन थाले । लगाइएको टेण्ट पनि निकालियो । विहे गेट भत्काइयो । विहे स्थगित गरेर त्यो परिवार कोरोनाको बज्रपात बोकेर मलामी जान बाध्य भए । विहे घरमा गएकाहरु आँखाबाट आँसु झार्दै आआफ्नो घरतर्फ लागे ।
कोरोनाका कारण कपिलवस्तुमा यस्तो खालको घटना पहिलो पटक भएको हो । यस घटनाले समग्र जिल्लाबासीलाई समेत स्तब्ध बनाएको छ । केही समय अघि सामान्य लक्षण देखिएका ती पुरुषलाई यति चाँडै, यस्तो स्थितिमा कोरोनाले लैजान्छ कुनै शोभाशंका थिएन । यस्तो बज्रपात हुन्थ्यो भन्ने लाग्थ्यो भने यो धुमधाम हुने थिएन । यो वैवाहिक कार्यक्रम हुन्थेन, परिवारकै एक जनाले भने, सहन नसक्ने पीडा कोरोनाले दियो । हट्टाकट्टा पुरुषको यसप्रकारको अकस्मात् निधनले सर्वसाधारणलाई पनि अचम्ममा पारेको छ । सोच्दै नसोचेको घटना भएको भन्दै परिवार अहिले शोकमा डुवेको छ ।
आफ्नै आँखा अगाडी यस्तो खाले घटना भएपछि कोरोनालाई सामान्य रुपमा लिन नहुने चार नम्बरका एक युवकले बताए । उनले भने ‘कोरोनाले यस्तो पनि पीडा दिँदो रहेछ । मलाई त यति पीडा बोध भइरहेको छ त्यो परिवारलाई कस्तो भयो होला ? (आँसु पिल्पिलाउँदै’) ।
पछिल्लो लहरमा आएको कोरोनाले देशभर अकालमै ज्यान लिइरहेको छ । बाणगंगामै शुक्रबार पनि वडा नम्बर ३ का ३३ बर्षका एक पुरुषको ज्यान लिएको थियो । यसरी नगरमा २ दिनमा २ जना हट्टाकट्टा पुरुषको ज्यान लिएपछि सामान्य रुपमा लिन नहुने सर्वसाधारणको बुझाई छ । पछिल्लो लहरमा कपिलवस्तुमा ज्यान जानेको संख्या ५ पुगेको छ भने संक्रमितको संख्या १ सय नाघेको छ ।
यस्तो स्थितिमा प्रत्येक पालिकाले कडा ढंगको निर्णय लिनु पर्ने नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाई बताउनु हुन्छ । तर खुला सिमाना भएको यस जिल्लामा त्यस्तो सुरक्षा सतर्कता भने अपनाइएको छैन । प्रहरीले तपाईको मास्क खोइ अभियान चलाए पनि खुला वर्डरबाट आउजाउ रोकिएको छैन । बाणगंगामै यस्तो घटना घट्दा पनि स्थानीय सरकारले सतर्कतामा कुनै चासो नदिएकोमा नगरबासीले मायादेवसिंग चिन्ता ब्यक्त गरे ।
पहिले भएका आइसोलेसन सेन्टर पनि अहिले छैनन् । आइसोलेसन बनाउनेमा अहिले कुनै छलफल छैन । बनाउने कुरो त परै जाओस् । मृत्यु पछि कहाँ दाहसंस्कार गर्ने त्यसमा नगरले छलफल नै गर्दैन । यसमा पूर्व तयारी नभएमा पछि भयावह स्थिति आउन सक्ने भन्दै सरोकारवालाले तुरुन्त नगरको ध्यानाकर्षण हुनुपर्ने बताएका छन् । परिवार आफैले शवलाई ब्यवस्थापन गर्नु परेको छ, बाणगंगामा । वडा नम्बर ३ धनकौलीका एक होटल संचालक पुरुषको ज्यान जाँदा पनि शव व्यवस्थापनमा समस्या भएको थियो ।
अहिले विद्यालय, हाटवजार चालु छन् । बिभिन्न विहे, ब्रतबन्ध, भोजभतेरमा सयौँको संख्यामा मानिसको भीँडभाड रहे पनि प्रहरी प्रशासन मुकदर्शक छ । पसलमा मास्क प्रयोग छैन । सडकमा हिँड्नेहरु पनि खुलेयाम मास्कविहिन हिँडिरहेका छन् । यस्तो स्थितिमा स्वयमु नागरिक सचेत रहनु पर्ने र स्वास्थय मापदण्ड पालना नगर्नेहरुमाथि प्रहरीले कडाई गर्नु पर्ने अवस्था आएको नागरिकहरु बताउँछन् । यस्तै लापरबाहि बढ्दै जाने हो भने कपिलवस्तु कोरानाको मुख्य केन्द्र बन्न बेर नलाग्ने चार नम्बरका एक सर्वसाधारणले बताए ।
प्रतिक्रिया