बुटवल ।
पछिल्लो समय कोरोना भाइरस संक्रमण फेरी फैलिएसँगै अस्पतालका आइसियुहरु पनि भरिएका छन् । लुम्बिनी प्रदेशका चारवटै कोरोना अस्पतालमा अहिले नयाँ विरामीको लागि बेड पाउन सक्ने अवस्था छैन ।
रुपन्देही र आसपासमा कोरोना संक्रमण बढेसँगै चैत्रको तेस्रो साताबाट बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा रहेको आइसियु कक्षमा विरामीहरु बढ्न थाले। मंगलबार अस्पतालका आइसियुका सबै १३ बेड भरिए ।
अघिल्लो दिनदेखी अस्पतालमा नयाँ विरामी राख्ने अवस्था नभएको लुम्बिनी प्रादेशीक अस्पतालका बुटवलका सुचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । ‘अहिले १३ वटा बेड छ। सबै प्याक छ। नयाँ विरामी आए भने राख्ने ठाउँ नै छैन।’ उनले भने ‘वेड नपाउँदा भैरहवा पठाइएको छ। कोही काठमाडौँ रिफर हुनुभएको छ ।’
बुटललमा बेड भरिदै गएपछि विरामीहरुलाई रिफर गरेर भैरहवामा पठाइएको थियो। भैरहवाको भिम अस्पतालमा ५ वेडको आइसियु कक्ष छ । २२ बेडको एचडियु कक्ष छ । बुटवलबाट रिफर भएका गम्भीर विरामी आइसियुमा र अन्य कतिपयलाई एचडियुमा भर्ना गरिएको थियो ।
भैरहवाका आइसियु र एचडियुका बेड पनि बुधबार साँझ भरिएको भिम अस्पतालका कोरोना फोकल पर्सन डा. आरिफ हुसेनले बताए। ‘धेरै जना बुटवलबाटै रिफर भएर आउनुभएको छ। ऋहिले आइसियु र एचडियु सबै भरियो । ’ उनले भने ‘आज विहानबाट ५ जनालाई फर्काइसकेका छौ, विरामी राख्ने ठाउँ नै छैन ।
बुटवल र भैरहवामा दुबैतिर बेड नपाएपछि कतिपयले हेलिकप्टर चार्टर गरेर विरामी काठमाडौँ पु¥याएका छन्। आर्थिक अवस्था कम्जोर भएका कतिपयले भगवान पुकार्नुपर्ने अवस्था छ ।
उता बाँकेको कोहलपुरमा रहेको भेरी अस्पतालमा पनि आइसियु र एचडियुमा गरेर ३० जना छन्। त्यसबाहेक सामान्य बेड सहित कुल १ सय ४२ बेड रहेको छ। कोरोना संक्रमितले सबै वेड भरिएको भेरी अस्पतालका मेडिकल सुपरिटण्ट डा. प्रकास थापाले बताए । डा. थापाले सबै १ सय ४२ वटा वेडमै अक्सिजन पाइपलाइन जोडेको र विरामीको अवस्था अनुसार आइसियु र एचडियुु सेवा दिन सकिने बताए।
भेरी अस्पताल संक्रमितले भरिएपछि नयाँ विरामीलाई निकै समस्या परेको छ । उता दाङको बेलझुण्डी कोरोना अस्पतालमा बुधबार साँझ सम्म २८ वटा बेडमा विरामी रहेका छन्।
संक्रमित भरिएर भयावह अवस्था आउँदा पनि प्रदेश सरकारको भूमिका देखिएको छैन । यस अघि प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य मामिला सम्बन्धी विषय हेर्ने गर्दथ्यो। मन्त्रिपरिषद विस्तारको क्रममा केही दिन अघि सामाजिक विकासबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अलग गरिएको छ।
प्रतिक्रिया