९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

विष खुवाएर मारिएको कुकुर खाएर ६७ गिद्ध मरे



परासी ।
पश्चिम नवलपरासीमा एकैसाथ ६७ वटा गिद्ध मृत फेला परेका छन् । जिल्लाको रामग्राम नगरपालिका वडा ४ जितपुरस्थित पर्तीजग्गामा ६७ वटा गिद्ध मृत फेला परेका हुन् । एउटा गिद्ध बिरामी अवस्थामा फेला परेको छ । बिरामी गिद्धको उपचार भैरहेको छ । सो क्षेत्रमा मारेर फालिएको कुकुरको सिनो खाएका कारण यति धेरै गिद्धको मृत्यु भएको अनुमान गरिएको छ । स्थानीयवासीका अनुसार जितपुरका एक व्यक्तिले विष खुवाई मारेर फालेको कुकुर खाएका कारण गिद्धको मृत्यु भएको अनुमान गरिएको छ । स्थानीयवासीका अनुसार मंगलबार दिउँसो ३ बजे आएका गिद्ध सिनो खाएर अचानक बिरामी भएर मर्न थालेका थिए । बिरामी गिद्ध धमाधम मर्न थालेपछि स्थानीयवासीले सम्बन्धित निकायमा सूचना दिएका थिए, तर चासो नदिएको गुनासो गरेका छन् ।

स्थानीयवासीका अनुसार डंगर अति संकटापन्न गिद्ध ३१ वटा, सानो खैरो अति संकटापन्न गिद्ध एउटा, हिमाली संकटापन्न ३३ वटा र राजगिद्ध संरक्षित २ वटा गरि कुल ६७ वटा गिद्ध मरेका छन् । मृत कुकुरको सिनोमा विषादी रहेको हुनसक्ने र सोही सिनो खाएर गिद्ध मरेको हुनसक्ने नेपाल पंक्षी संरक्षण संघ बुटवलले जनाएको छ । कुकुर मारेर खुल्ला ठाउँमा फाल्ने व्यक्तिको समेत खोजी कार्य भैरहेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८ बुधबार ००:००  ५ : ४९ बजे