९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बुद्धभूमिको टिक्करमा बन्यो नरसिंह मन्दिर, पूर्व राज्यमन्त्री आचार्य र मेयर श्रेष्ठद्धारा उद्घाटन



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. १ टिक्करमा श्री नरसिंह मन्दिरको उद्घाटन गरिएको छ । चैते दशैको अवसर पारेर एक समारोहका बीच मंगलबार मन्दिरको समुद्घाटन गरिएको हो ।

ऐतिहासिक तथा पौराणिक महत्व बोकेको श्री नरसिंह मन्दिर कलात्मक ढंगबाट विभिन्न दाताको सहयोगमा निर्माण गरिएको थियो । पूर्व सिंचाई राज्य मन्त्री सुरेन्द्रराज आचार्य, बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले मन्दिरको एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

मन्दिर उद्घाटन गर्दै पूर्व सिंचाई राज्यमन्त्री आचार्यले धार्मिक तथा सांस्कृतिक सम्पदामा राज्यले लगानी गर्नुपर्नेमा जोड दिनुभयो । जिल्लाका हरेक स्थानीय पालिकामा धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेका स्थल र सम्पदा रहेको हुनाले तिनीहरुको संरक्षण र सम्बर्धन गर्नु पालिका प्रमुखहरुको दायित्व रहेको बताउनुभयो । उहाँले धर्म, संस्कृति र अध्यात्म प्रति नागरिकको अटुट आस्था कायमै रहकाले यसलाई मर्न दिन नहुने बताउनुभयो ।

No description available.

साथै उहाँले कोरोनाको दोस्रो लहर चलेको भन्दै कोरोनाको सचेतनामा पनि जोड दिन आग्रह गर्नुभयो । नगर प्रमुख श्रेष्ठले नगरभित्रका विभिन्न स्थानमा ऐतिहासिकता, पौराणिकता बोकेका मन्दिरलाई व्यवस्थित बनाई आन्तरिक पर्यटकलाई बढवा दिने काम आफुहरुले गरिरहेको बताउनुभयो । नगरका विभिन्न वडामा थुप्रै इतिहास बोकेका मन्दिर रहेको भन्दै मन्दिरको पुनः निर्माणसंगै धार्मिक पर्यटन भित्त्राउने गरी नगरपालिकाले लगानी गरेको उहाँले सुनाउनुभयो ।

No description available.

मन्दिर निर्माण समितिका अध्यक्ष मेयरसिंह कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष तिलक बस्नेत, नेकपा (एमाले)का नेता पिताम्बर खनाल, बुद्धभूमि उद्योग वाणिज्य संघका अध्यक्ष शुभलाल भुसाल लगायतले बोल्नुभएको थियो । श्री नरसिंह मन्दिर निर्माणमा नगरपालिकाले २० लाख लगानी गरेको थियो भने अरु विभिन्न दाताको सहयोग रहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८ मंगलबार ००:००  ६ : ५७ बजे