९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कपिलवस्तु लगायतका जिल्लामा पानी पर्दा किसानलाई हल्का राहत



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तु लगायतका जिल्लामा गयराति पानी परेको छ । लामो समयसम्म पानी नपरेर सु्ख्खा भएको जमिनमा गयाराति हल्का बर्षा भएपछि किसानलाई सामान्य राहत मिलेको हो ।
देशका पहाडी केही ठाउँ र तराईका थोरै ठाउँमा हावाहुरी, मेघगर्जन, चट्याङ्ग र असिनासहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले हिजै पूर्वानुमान गरेको थियो । लामो समयदेखि खडेरी परेका बेला परेको असिना पानीले कतै कतै क्षति गरे पनि खेती लगाउन तयार किसानलाई राहत पुगेको छ ।

गहुँमुमुरो स्याहारेर खेतमा गाइवस्तु चराउने किसानलाई पनि राहत मिलेको छ । खेत सु्ख्खा हुँदा घाँस नभएपछि गाइवस्तु चराउन पनि समस्या भएको थियो । यो सामान्य पानीले खेतमा घाँस पलाउन पनि सजिलो बनाएको बाणगंगाका कृषक खिमानन्द न्यौपानेले बताउनु भयो ।

साथै डढेलो र प्रदूषणको असर घटाउन अहिले परेको पानी महत्त्वपूर्ण रहेको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले बताउनुभएको छ । जनाएको छ । अहिले पूर्व, कर्णाली तथा सुदूरपश्चिममा मौसम सामान्य बद्ली भएको छ ।

गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रमा पनि मौसम आंशिक बद्ली भएको छ । प्रि(मनसुनको गतिविधि सक्रिय रहेकाले आज पनि देशका धेरैजसो ठाउँमा आंशिकदेखि सामान्य बद्लीकै अवस्था रहने महाशाखाले जनाएको छ ।

हिजोदेखि पश्चिमी वायु पनि भित्रिएको छ । स्थानीय र पश्चिमी गरी दुई वटा प्रणाली सक्रिय रहेकाले मौसम बद्लीसँगै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु मनसुन सुरु नहुँदासम्म बेलाबेला देखिने गरेको तर यसको असर कमजोर रहने महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

आज पनि पहाडी केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित असिना पानीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । हिजो काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा चट्याङ्ग, हावाहुरीसहित असिना पानी परेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७८ आइतबार ००:००  ६ : १२ बजे