९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

स्थानीय र पश्चिमी वायु सक्रियभयोः आज र भोलि असिना पानीको सम्भावना



काठमाण्डौ ।

देशका पहाडी केही ठाउँ र तराईका थोरै ठाउँमा आज पनि हावाहुरी, मेघगर्जन, चट्याङ्ग र असिनासहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पूर्व, कर्णाली तथा सुदूरपश्चिममा मौसम सामान्य बद्ली भएको छ । गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रमा पनि मौसम आंशिक बद्ली भएको छ । प्रि–मनसुनको गतिविधि सक्रिय रहेकाले आज पनि देशका धेरैजसो ठाउँमा आंशिकदेखि सामान्य बद्लीकै अवस्था रहने महाशाखाले जनाएको छ ।

आजदेखि पश्चिमी वायु पनि भित्रिएको छ । स्थानीय र पश्चिमी गरी दुई वटा प्रणाली सक्रिय रहेकाले मौसम बद्लीसँगै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु मनसुन सुरु नहुँदासम्म बेलाबेला देखिने गरेको तर यसको असर कमजोर रहने महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

आज र भोलि पहाडी केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित असिना पानीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । हिजो काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा चट्याङ्ग, हावाहुरीसहित असिना पानी परेको थियो ।

लामो समयदेखि खडेरी परेका बेला परेको असिना पानीले कतै कतै क्षति गरे पनि खेती लगाउन तयार किसानलाई राहत पुगेको छ । साथै डढेलो र प्रदूषणको असर घटाउन अहिले परेको पानी महत्त्वपूर्ण रहेको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले बताउनुभएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८ शनिबार ००:००  ७ : ५१ बजे