काठमाडौं ।
नेपालको राष्ट्रिय क्रिकेट टोलीले शनिबारदेखि मलेसिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्दैछ ।
काठमाडौंको त्रिवि मैदानमा डबल राउण्ड रोविनका आधारमा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ ।
लामो समय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएको नेपाललाई मलेसिया र नेदरल्यान्ड्ससँग खेल्न सजिलो भने हुने छैन । आईसीसीको टी–ट्वान्टी वरीयतामा एसोसिएट राष्ट्रको पाँचौं स्थानमा रहेपनि नेदरल्यान्ड्स एसोसिएट राष्ट्र मध्यको बलियो टोली हो । नेदरल्यान्ड्स टेष्ट राष्ट्रलाई समेत मात दिएको टिम हो ।
मलेसियालाई भने ‘अण्डर डग’ टोली मानिएको छ । यसअघि नेपाललाई दुई खेलमा पराजित गरेको मलेसियालाई यस सिरिजमा ‘अण्डर डग’ टिमको रुपमा हेरिएको छ ।
नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले भने आफ्नो क्रिकेटमा विश्वास राख्नुपर्ने बताउँछन् । उनले क्रिकेट भएकाले विपक्षी टिम जस्तो भएपनि आफुले राम्रो क्रिकेट खेल्नु पर्छ भन्ने विश्वास राख्ने बताए ।
‘पहिलो कुरा यो क्रिकेट हो । अर्को विषय भनेको विपक्षी कस्तो छ भन्दा पनि हामीले राम्रो क्रिकेट खेल्नु पर्छ ।’ कप्तान मल्लले खेलपाटीसंग भने, ‘अब टी–ट्वान्टीमा सबै टोली उस्तै–उस्तै हुन्छ । टी–ट्वान्टीमा जुन टिमले राम्ररी खेल्छ उसले जित्ने हो । तर, पनि हाम्रो टिम जुन किसिमले बनेको छ, त्यसले हामी अझ बलियो छौ जस्तो लाग्छ ।’
उनले केही खेलाडी टी–ट्वान्टीमा खास भएकाले टोलीमा समावेश गरेको बताए ।
उनले आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल लगायतका खेलाडी टी–ट्वान्टीमा गेम चेन्जरको रुपमा टोलीमा प्रयोग गर्न सकिने बताए ।
‘आसिफ, कुशल, कुशलको खेल्ने स्टाइल टी–ट्वान्टीका लागि उपयुक्त हुने खालको छ । उनीहरु टी–ट्वान्टीलाई प्रस्ताव गर्दा नेपाली टोलीमा मिल्ने खालको टी–ट्वान्टीका खास खेलाडी हुन् ।’ उनले भने, ‘सन्दीप लामिछाने पनि अन्तर्राष्ट्रिय स्तरमा टी–ट्वान्टीमा राम्रो गरिरहेका खेलाडी हुन् । यसले अन्य खेलाडीलाई पनि आत्मविश्वास दिलाएको छ ।’
तिव्र गतिका बलरद्धय सोमपाल कामी र करन केसीले पनि अन्तर्राष्ट्रिय स्तरमा अनुभव लिएकाले टी–ट्वान्टीमा नेपाली टोलीलाई अझै बलियो बनाएको कप्तान मल्लको बुझाई छ ।
कप्तान मल्लले अबको तयारी टी–ट्वान्टी विश्वकपको रहेको बताए ।उनले यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने भन्दै अबको तयारी टी–ट्वान्टी विश्वकपको रहेको बताए ।
प्रतिक्रिया