मायादेवी अनलाइन, चारनम्बर ।
नेपालका अधिकांश राजनीतिक दलहरूको केन्द्रीय कार्यालय काठमाडौँमा रहेको छ । तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भने कपिलवस्तुमा पार्टीको केन्द्रीय कार्यालय निर्माण गर्ने भएको छ । पार्टीका महासचिव चन्दकै गृहजिल्ला कपिलवस्तुको शिवगढीमा पार्टी केन्द्रको कार्यालय बनाउने भन्दै भवनको शिलान्यास गरेका हुन् ।
शिवगढीलाई ‘मिनी रोल्पा’ पनि भनेर चिनिन्छ । अहिलेलाई सम्पर्क कार्यालय बनाउने र पछि त्यसैलाई नै पार्टीको केन्द्रीय कार्यालय बनाउने गरी निर्माण गर्न लागिएको पार्टीले जनाएको छ । सरकारसँग २१ फागुनमा तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको चन्द नेतृत्वको नेकपाले अहिलेसम्म काठमाडौँमा औपचारिक कार्यालय पनि खोलेको छैन । अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य खोमा तरामु मगरले गरिब, किसान र मजदुरसँग नजिक भएर काम गर्न कपिलवस्तु रोजिएको बताइएको छ ।
पार्टी केन्द्रीय सदस्य सञ्जीव कुमारले पार्टी कार्यालय ४ तलाको हुने जानकारी दिए । असारसम्म एक तला निर्माण गरिसक्ने गरी निर्माण कार्य थालिने उनले बताए । अर्को दुई तलामा करिब तीन सयभन्दा बढी अटाउने सभाहल बनाउने पार्टीको योजना रहेको छ । यसका लागि असारपछि अरु काम गर्ने उनको भनाइ छ । पानी पर्ने सिजन भएकोले असारसम्म काम फटाफट गर्ने तयारी गरेको उनले बताए । भवनका लागि एक करोडभन्दा बढी लागत अनुमान गरिएको छ । भवनका लागि ४ कट्ठा जमिन स्थानीयसँग खरिद गरिएको उनको भनाइ छ । भवनसँगै पार्टीले सहिद स्मृति पार्कसमेत निर्माण गर्नेछ ।
प्रतिक्रिया