९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लुम्बिनी प्रदेशको लागि ७७ साल मध्यम, नाम र राजधानी पाउनु मुख्य उपलब्धि



बुटवल ।

लुम्बिनी प्रदेशको लागि वि.स. २०७७ साल मध्यम खालको बेनको छ । कोरोना महामारीको असरले लुम्बिनीमा पनि थुपैले ज्यान गुमाए भने कोरोनाको बीचमा पनि विकास निर्माणका गतिविधि पनि भए । मुख्य उपलब्धिको रुपमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोकिनु रह्यो । अर्को तर्फ मुलुकको राजनीतिक घट्नाक्रमको छिटा प्रदेशमा पनि प¥यो । त्यस्तै केही विपद र सामाजिक घट्नाका समाचार पनि सार्वजनिक भए ।
पायो प्रदेशले नाम र राजधानी

प्रदेश सरकार स्थापना भएको साढे २ वर्ष हुँदा पनि नाम र राजधानी टुंगो लगाउन नसकेको भन्दै आलोचना प्रदेश सरकारको आलोचना भइरहेको थियो । असोज १६ गते एकाएक प्रदेश सभामा राजधानी र नामाकरणको प्रस्ताव पेश भयो। आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केशीले प्रदेशको नाम लुम्बिनी राख्ने र दाङको देउखुरीलाई प्रदेशको राजधानी बनाउने प्रस्ताव प्रस्तुत गरेका थिए।

राजधानी सार्ने प्रस्तावको विरोधमा सदनमा पनि तनाव भयो । नेपाली कांग्रेसका तीन जना सांसदले कुर्शी नै तोडफोड गरे। आन्दोलनकै क्रममा मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमा बुटवलको राजमार्ग चौराहमा ढुंगा प्रहार भयो । असोज २० गते प्रदेशको नाम लुम्बिनी राख्ने र राप्ती उपत्यका देउखुरीलाई राजधानी बनाउने प्रस्तावल प्रदेश सभाबाट पारीत भयो । यसरी प्रदेश सरकार गठन भएको झण्डै डेढ बर्षपछि प्रदेशले नाम र राजधानी पाएको थियो। यो नै प्रदेशको सबैभन्दा ठुलो उपलब्धि रह्यो ।

कोभिड – १९ संक्रमणबाट २८ हजार बढी संक्रमित ४२० ले गुमाए ज्यान

वि सं. २०७७ साल सुरु हुँदा मुलुकमा लकडाउन भएको २० दिन पुगीसकेको थियो। विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण नेपालमा चैत्र ११ गतेदेखी लकडाउन भएको थियो। त्यसैले यो सालको पहिलो दिन घर भित्रै सिमित थिए। नयाँवर्ष उत्सव सामाजिका सञ्जालमा मात्र सिमित थियो।

नेपालभरमा केहीलाई कोरोना संक्रमण पुष्टी भएपनि २०७७ साल सुरु हुँदा लुम्बिनी प्रदेशमा भने संक्रमण देखिइसकेको थिएन। बैशाख १९ गते रुपन्देही र बाँकेमा एकै दिन संक्रमित फेला परे। यो नै लुम्बिनी प्रदेशमा संक्रमणको सुरुवात थियो। त्यसको पर्सिपल्ट बैशाख २१ मा बाँकेमा एकै पटक १५ जनामा कोरोना संक्रमण देखियो। त्यसपछि प्रदेशका सबै जसो जिल्लामा कोरोना संक्रमण फैलियो । प्रदेशमा दिनमा सयौं संक्रिमित थपिँदै गए।

जेठ ४ गते लुम्बिनी प्रदशमै पहिलो संक्रमितको मृत्यु भएको थियो । त्यसपछि लगातार जसो मृत्युका खबरहरु सार्वजनिक भइरहे।साउनको अन्तिम हप्ता कोरोना संक्रमण समुदाय तहमै देखियो। जता ततै फैलियो। दिन प्रतिदिन संक्रमितहरु थपिँदै गए। असोज र कात्र्तिकमा संक्रमण दर ह्वात्तै बढ्यो। कात्र्तिकको पहिलो हप्ता मात्र लुम्बिनी प्रदेशमा सक्रिय संक्रमितको संख्या झण्डै ५ हजार थियो ।

यति बेला दैनिक ४ सयको हाराहारीमा संक्रमित थपिने गरेका थिए। लकडाउनले व्यपार व्यवसाय ठप्प भएपछि सबै क्षेत्र प्रभावित भएको थियो । मंसिर पछि जनजिवन सामान्य तर्फ हुन थाल्यो। सार्वजनिक यातायातहरु चल्न थाले, विद्यालयहरु पनि सुचारु भए। भेला गोष्टी सभाहरु हुन थाले । कोरोन संक्रमणबाट मृत्यु दरमा पनि कमी आएको थियो ।

तर २०७७ साल सकिँदै गर्दा कोरोना संक्रमणले फेरी देश हल्लाएको छ। फेरी संक्रमण दर बढेको छ । मृत्युका घट्ना पनि पहिले जस्तै बाहिर आइरहेका छन्। सोमबार मात्र लुम्बिनी प्रदेशमा ९७ जना संक्रमित थपिएका छन्। ३ जनाको एउटै अस्पतालमा मृत्यु भएको छ। कोरोना संक्रमणको त्रास फेरी बढेको छ। हाल सम्म प्रदेशमा कोरोना संक्रमणबाट २८ हजार बढी संक्रमित भएका छन्। त्यस मध्ये सोमबार बेलुका सम्म ४ सय २० जनाको मृत्यु भएको छ। अहिले मात्र ४ सय ५० जना आइसोलेसनमा रहेका छन्।

केन्द्रको राजनीतिको असर प्रदेशमा

पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि मुलुकको त्यसको पक्ष र विपक्षमा राजनीति कित्ताकाट भयो। सत्तारुढ नेकपामा प्रचण्ड र माधव नेपाल पक्ष विघटनको विरुद्धमा सडकमै आयो। कांग्रेस लगायतका अन्य विपक्षी दलले पनि विरोध गरे। उता विघटनको पक्षमा केप ओली पक्षले पनि सडक प्रदर्शन गर्यो। बुटवलमा पनि दुबै पक्षका प्रदर्शन भए।

लुम्बिनी प्रदशमा यस वर्ष पनि विभिन्न विपतका घट्नाहरु सार्वजनिक भए। साउन १५ गते राती पहिरोले पुर्दा गुल्मीको रुरु गाउँपालिका ५ आँपटारीमा एकै परिवारका ४ जनाको मृत्यु भएको थियो । गुल्मीकै इश्मामा पहिरोमा दुइ जनाको ज्यान गएको थियो ।

उता पाल्पाको तान्सेन हार्थोक सडकमा पहिरोले गाडी बगाउँदा ३ जनाको मृत्यु भएको थियो । साउन, भदौ, असोजमा बाढी पहिरोले प्रदेशका ठाउँ ठाउँमा क्षतिका खबर आएका थिए। पहिरोले गर्दा सिद्धार्थ राजमार्गको शिद्धबाबा, दोभान, झुम्सा, गौडेपुल लगायतका ठाउँमा पहिरो जाँदा पटक पटक सडक अवरुद्ध भए। विभिन्न ठाउँमा गएको पहिरोले थुप्रै घर परिवार विस्थापित भए।

अपराधिक घट्ना उस्तै

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकै मैनहवामा जेठ २६ गते राती एकै ठाउँमा ५ जनाको हत्या भयो । स्थानिय कृष्ण पुनको गंगादेवी पशु गाई फर्ममा कार्यरत कामदारको हत्या भएको थियो। हत्याको आरोपमा सुर्खेतका झसेन्द्र सिञ्जाली पक्राउ परेका थिए।
रुपन्देहीकै देबदह नगरपालिकामा अंगिरा पासीको बलात्कार पछिको हत्या काण्ड पनि राष्ट्रिय रुपमा ध्यान खिच्यो ।

यता लामो लकडाउनले लुम्बिनी प्रदेशका पर्यटकिय स्थलहरु पनि सुनसान भए। कात्र्तिक पछि लकडाउन खुकुलो भएपछि बुद्धस्थल लुम्बिनी लगायतका पर्यटकीय स्थलमा चहलपहल बढ्न थाल्यो । तर व्यवसायीलाई राहत पुग्ने गरी बास बस्ने पर्यटक भने आएनन्। भारतीय र आन्तरिक पर्यटक आएपनि लुम्बिनी बास बस्ने गरी आएनन्।

यस्तै पाल्पाको रानीमहल, प्युठानको स्वर्गद्वारी, लगयतका स्थानमा लकडाउन खुकुलो भएपछि चहल पहल बढेको थियो । केही पर्यटकिय पूर्वाधारका काम पनि सुरु भएका छन् । बुटवलमा पर्यटकलाई आकर्षण गर्न नुवाकोट र बसन्तपुर सम्म जाने छुट्टा छुट्टै केवल कार निर्माणको काम पनि सुरु भएको छ। भैरहवा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल यसै वर्षबाट सञ्चालन हुने भनिएपनि कोरोनाका कारण चिनबाट प्राविधिक जनसक्ती नआउँदा ढिलाई भएको छ । थलिएको पर्यटन क्षेत्रले बामे सर्न थाले पनि तर केही हप्ता यता पुन फैलिएको कोरोना संक्रमणले निराश बनाएको छ। लुम्बिनी टाइम्सबाट साभार ।

प्रकाशित मिति : ३१ चैत्र २०७७ मंगलबार ००:००  ७ : २४ बजे