९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुका नाकामा सरकारी पक्षबाट लापरबाही, मर्यादपुरमा हेल्थ डेस्क नै छैन !



मायादेवी अनलाइन, चारनम्बर ।

कोभिड–१९ संक्रमणको दोस्रो लहरले भारतका विभिन्न सहर पुनः प्रभावित हुँदै गर्दा कपिलवस्तुका सिमा नाकामा सरकारी पक्षबाट नै चरम लापरबाही देखिएको छ । मर्यादपुर, खुनुवा, कृष्णनगर लगायतका नाकामा जाँचमा लापरबाही छ भने मर्यादपुर नाकामा हेल्थ डेस्क नै नभएको पाइएको छ । यसले गर्दा जिल्लामा कोरोनाको संक्रमण हुने डर देखिएको छ ।

मर्यादापुरबाट अहिले स्वास्थ्य परीक्षण नै नगरी आवतजावत भइरहेको छ । कागजमा नाका नखुले पनि व्यावहारिक रूपमा नाकाबाट आवतजावत भइरहेको स्थानीयले बताए । मुख्य नाकाबाट आउजाउ गर्न नदिएपछि ४० मिटर पश्चिमको नाकाबाट निर्बाध आवागमन भइरहेको हो ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सशस्त्र प्रहरी बसेर सुरक्षा चेकजाँच गरेर आउन जान दिएका हुन् । सामान्य सुरक्षा सतर्कता पनि नअपनाइएको यशोधरा गाउँपालिकाका शम्भु मालीले बताए । यस नाकाबाट अहिले दैनिक ५ सयभन्दा बढी आउजाउ गरिरहेका छन् ।

त्यस्तै अर्को नाका कृष्णनगरमा भने हेल्थ डेक्स राखेर स्वास्थ्य परीक्षण गरेर आवतजावत गर्न दिइएको छ । चैत १३ मा हेल्थ डेस्क स्थापना गरेर चेकजाँच थालिएको हो । कृष्णनगरको लिंक गेटमा हेल्थ डेस्क राखिएको छ । १ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

उता सुनौली–भैरहवा नाकामा भने जाँचमा कडाइ छैन । हेल्थ डेस्क राखिएको छ तर भारतबाट नेपाल पस्ने सबैको अनिवार्य ज्वरो जाँचमा भने सक्रियता देखिएको छैन ।
नेपाल पस्नेमध्ये केहीलाई मात्रै सीमामा सोधपुछ गरी ज्वरो मापन गर्ने र अभिलेख राख्ने गरिएको छ । नेपाल पस्ने सबैको नछुटाई जाँच गर्न जनशक्ति नपुग्ने हेल्थ डेस्कका स्वास्थ्यकर्मीले बताए । जाँच गर्न सकेसम्म प्रयास गरे पनि त्यसका लागि चाहिने संख्यामा जनशक्ति नभएको अहेव लालमोहन चौधरी बताउँछन् ।

सुनौली नाकामा कोरोनासँगै मलेरियासमेतको संक्रमणको जोखिमबाट सावधानी अपनाउन भन्दै विगत दुई हप्तादेखि नाकामा हेल्थ डेस्कलाई क्रियाशील गराइएको थियो ।
यता नेपालगन्जको जमुनाहा नाका भएर घर फर्किनेलाई ज्वरो नाप्ने अनि शंका लागेकालाई मात्र कोरोना जाँच गरिने गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।

चैत लागेसँगै जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएको कोरोना फोकल पर्सन तेज वलीले बताए । चैत ११ मा नाकामा स्थापना गरिएको हेल्थ डेस्कबाट जाँच गराए मात्रै नेपाल पस्न पाउने व्यवस्था गरिएको छ । १५ मिनेटमा रिपोर्ट निकाल्ने प्रविधिसहितको हेल्थ डेस्क यहाँ सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित मिति : ३० चैत्र २०७७ सोमबार ००:००  ८ : २३ बजे