९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रतिकूल मौसमका कारण चार दिनदेखि उडान प्रभावित



काठमाण्डौ ।
प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विगत चार दिन केही मात्रामा उडान प्रभावित भएको छ । मौसम खराबीले अन्तर्राष्ट्रिय उडान नियमित भए पनि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आन्तरिक उडान केही सङ्ख्यामा प्रभावित भएको जानकारी दिनुभयो । विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान थोरै सङ्ख्यामा रद्द भएको छ । यान्त्रिक पद्धति ९आइएफआर०बाट रात्रिकालीन उडानयोग्य विमानस्थलमा उडान गरिए पनि पोखरा, जनकपुर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएको छ ।
अघिल्लो एक हप्ता मौसम खराबीले उडान रद्द भएको अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः गएको चैत २३ गते मङ्गलवारदेखि उडान प्रभावित भएको हो । काठमाण्डौ उपत्यकासहित देशभरको आकाशमा बाक्लो धुवाँसहितको तुवाँलो लागेकाले भिजीबिलिटी कम हुँदा खासगरी आन्तरिक उडान प्रभावित बनेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्कअनुसार आन्तरिक उडानमा बुधवार विभिन्न एयरलाइन्सका जम्मा ११२ उडानमध्ये ९५ मात्रै उडान भए । बाह्र उडान रद्द हुनका साथै पाँच उडान मर्ज गरिएको थियो । यी उडानबाट प्रस्थान र आवागमन दुवै गरी नौ हजार ८२४ यात्रुले हवाईयात्रा गरेका छन् । बुद्ध एयरको सात, यती एयरलाइन्सको चार र सीता एयरको एक उडान रद्द भएको छ ।

यस्तै गएको मङ्गलवार आन्तरिकतर्फ ११८ उडान निर्धारण गरिएकामा जम्मा ८८ उडान भए । २८ उडान रद्द भएका छन् । बुद्ध एयरको १५, यती एयरलाइन्सको छ, समिट एयरको तीन, सौर्य एयरलाइन्सको दुई तथा तारा एयरको समान एक(एक उडान भएका छन् । सबै उडानमार्फत आठ हजार ६८७ यात्रु आवतजावत गरेका छन् । अघिल्लो सोमवार सर्वाधिक ३० उडान रद्द भएका छन् । यसदिन जम्मा १२२ उडान निर्धारण गरिएकामा ९१ मात्रै उडान भएको छ । बुद्धएयरको १७, यती एयरलाइन्सको नौ, ताराएयरको दुई तथा श्री एयरलाइन्स र सीताएयरको समान एक(एक उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ ।

तीन दिन मौसम खराबी रहे पनि तुलनात्मकरूपमा आज काठमाण्डौको आकाश केही मात्रामा खुलेको छ । बाक्लो तुवाँलो नभएपछि भिजिबिलिटी पनि राम्रो रहेको र नियमित उडान भइरहेको विमानस्थलका महाप्रबन्धक तिवारीले बताउनुभयो । उहाँका अनुसार आज पोखरा विमानस्थलबाहेकका गन्तव्यमा उडान नियमित भइरहेको छ । पोखरामा विगत तीन दिनदेखि उडान हुन नसक्दा यात्रु मर्कामा परेका छन् । रासस

प्रकाशित मिति : २६ चैत्र २०७७ बिहिबार ००:००  १ : ४८ बजे