मायादेवी अनलाइन, चारनम्बर ।
सामाजिक, मानवीय र राष्ट्रनिर्माणको काममा सहयोग गर्न ऐश्वर्य र धन होइन मन चाहिन्छ भन्ने कुराको उदाहरण टंक अचार्य र उहाँकी धर्मपत्नी लिला आचार्य बन्नु भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ३ ठाँटीमा स्थायी बसोबास गर्ने आचार्य दम्पतिले चितवनमा जनस्तरबाट बनिरहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउन भन्दै धुर्मस सुन्तली फाउण्डेसनलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेर उदाहरण प्रस्तुत गर्नु भएको हो ।
उहाँहरुले बाणगंगाको ४ नम्बर चोकमा भएको एक कार्यक्रमकाबीच फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मस) ले सो नगद रकम ग्रहण गर्नु भएको थियो । रंगशाला निर्माण सम्पन्न गर्नको लागि रकम जनस्तरमा संकल गर्न महाकाली मेची अभियानमा बुटवल रहेको टोली आचार्य दम्पतिको सम्मानस्वरुप कपिलवस्तुमा पुनः आई रकम ग्रहण गरेको थियो । रकम लिँलै भावुक बनेका धुर्मसले यस्ता बुबा खोजेर पाउन मुस्किल हुने बताए । उहाँले मायादेवीसंग भन्नुभयो ‘यति साधारण ब्यक्ति, हामीलाई यतिका धेरै सहयोग गर्न कहाँबाट आयो ? म भावुक छु । यस्ता मनकारी बुबा मुस्किलले खोजेर पाइन्छ । बाणगंगामा पाएँ । बुबा हजुर हाम्रो प्रेरणा हुनहुन्छ ।’
सहयोग गर्ने बेलामा कार्यक्रममै सन्नाटा छाएको थियो । धुर्मुसको अभियानको सुरुदेखिका प्रसंसक टंक आचार्यले सहयोग गर्न पाएकोमा भन्दा धुर्मुसलाई संगै भेट्न पाएको भन्दै मुर्छा पर्नुभयो । उहाँले भन्नुभयो‘तपाई महान हुनुहुन्छ । तपाई राष्ट्र निर्माता हो । नेताले देश खाइसके । अब धुर्मुसजस्ता ब्यक्तिबाट नेताले पनि कसरी विकास गर्नुपर्छ भन्ने कुरा सिक्नुहोस् ।’ यो सहयोग निकै सानो भएको बताउँदै ठुलो रुपमा नलिन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा हास्य कलाकार एवम् अभियान्ता अर्जुन घिमिरे (पाँडे), अभियान्ता अर्जुन भुसालले बोल्दै अभियानमा सहयोग गर्न आग्रह गर्नु भएको थियो । सो सहयोग संकलन कार्यक्रमको सहजिकरण रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेले गर्नु भएको थियो ।
सोही कार्यक्रममै अन्य सर्वसाधारण पनि सहयोग गरेका थिए । छोटो समयको कार्यक्रममा चार नम्बरबाट थप ४० हजार जुटेको थियो ।
प्रतिक्रिया