काठमाण्डौँ ।
सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् अवस्थामा फर्किएको नेकपा एमाले भित्र पछिल्लो समय तिब्र मतभेद देखिएको छ। नेकपा विभाजन गर्ने सर्वोच्चको फैसलासँगै एमालेमा केपी शर्मा ओली र झलनाथ खनाल–माधव नेपाल पक्षले समानान्तर ढंगले गतिविधि गर्दै आएका छन्।
अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाएको खनाल(नेपाल पक्षले यसअघि नै पार्टी सुदृढिकरण अभियान अन्तर्गत तीन महिने कार्यक्रम घोषणा गरिसकेको छ। केन्द्रदेखि वडासम्म समानान्तर कमिटी गठन गर्ने योजना बनाएको खनाल(नेपाल समूहले वागमति र सुदूरपश्चिम प्रदेशमा समानान्तर कमिटी बनाईसकेको छ।
केन्द्रमा तिब्र बिग्रह खेपिरहेको एमालेले कर्णाली प्रदेशमा भने दुवै समूह एक भएर अगाडि बढ्न खोजिरहेका छन्।
मंगलबार माओवादी केन्द्रका महेन्द्र बहादुर शाही नेतृत्वको सरकारमा रहेका तीन जना नेपाल समूहका मन्त्रीले राजीनामा दिएका छन्। राजीनामाका विषयमा उनीहरूले सर्वोच्चको फैसलापछि पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि सरकारलाई दिईएको समर्थन फिर्ता लिने एमाले प्रदेश संसदीय दलको निर्णय कार्यान्वयन गर्न राजीनामा दिएको बताएका छन्।
चैत ४ गते बसेको एमाले संसदीय दलको वैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र आफ्ना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेको थियो। ओली समूहका १० जना मात्र सांसद्हरुको उपस्थितिमा बसेको वैठकले गरेको उक्त निर्णयप्रति खनाल( नेपाल समूहका सांसद्हरुले शुरुमा आपत्ति जनाएका थिए।
तर चैत २२ गते बसेको वैठकले संसदीय दलमा माधव नेपाल समूहका सांसद् पनि सहभागी भए। उक्त वैठकबाट मन्त्रीहरुले राजीनामा दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा सहमति जनाएको थियो।
पार्टीभित्र मिलेर जानुपर्ने सन्देश दिन प्रदेशमा आफूहरु मिलेर अघि बढेको खनाल(नेपाल समूहका सांसदहरुले बताएका छन्। आर्थिक मामिला तथा योजना मन्त्रीबाट राजीनामा दिएका खनाल(नेपाल समूहका सांसद् प्रकाश ज्वालाले भने, ‘नमिलाउँदा समस्या होला, त्यसैले मिल्नुपर्छ। पार्टीभित्र मिलेर जानुपर्छ भन्ने सन्देश दिन हामीले खोजेका हौं।’
अब अगाडिका दिनहरुमा पनि मिल्ने वातावरण सबैले बनाउनुपर्ने उनले बताए। उनले अब सरकार गठनका बारेमा पनि एकआपसमा छलफल गरी अगाडि बढ्ने बताए। ‘हामीले यति गर्यौं, अब अगाडि कसरी बढ्ने भन्ने विषयमा छलफल होला।’
नेपाल पक्षका अर्का सांसद् सुशील थापाले पनि पार्टी एक भएर अगाडि बढ्नुपर्छ भन्ने सन्देश कर्णालीबाट दिन खोजेको बताए। ‘तिमीहरु केन्द्रमा सबै नेता मिलेर आउ, हामी यहाँ फुट्न दिँदैनौ भनेर एक खालको सवक सिकाएका हौं,’ सांसद थापाले भने।
उनले केन्द्रबाट कुनै पनि खालको दवाव नआएको बताए। उनले भने, ‘हामीले सोचविचार गरेरै एक भएका हौं। कहिलेकाहीँ नेताहरु जुध्दाखेरी कार्यकर्ताले बचाउनुपर्छ। त्यस कारण हामीले पनि आफ्नो भूमिका खेलौं भनेर यसरी अगाडि बढेका हौं ।’
पार्टी संकटमा परेका बेला त्यो संकट अन्त्य गर्न कर्णालीमा आफूहरु अगााडि बढेको थापाले बताए।
‘यो त हामीले सिंगो पार्टीलाई सन्देश दिन एकताबद्ध भएर अगाडि बढेका हौं, हामीले एकताकै सन्देश दिन यहाँको संसदीय दलका सबै एजेण्डमा सहमति जनाएका छौं,’ नेपाल समूहका अर्का सांसद् चन्द्र बहादुर शाहीले सेतोपाटीसँग भने, ‘सर्वोच्चको फैसलापछि हामी एमाले पूर्ववत् अवस्थामा पर्किएपछि माथिसम्म पनि एकता भएर पनि अगाडि बढ्नु पर्छ भन्ने हो ।’
ओली समूहका सांसद गुलाबजंग शाहले सबैमा एकताको भावना विकास भएर नै कर्णालीमा पार्टी एक भएर अगाडि बढेको दावी गरे।
कर्णालीमा एमाले एक भएर अगाडि बढ्न कसरी सम्भव भयोरु, भन्ने सेतोपाटीको प्रश्नमा सांसद शाहले भने, ‘कतिपय बेला यस्तो अप्ठ्यारो परिस्थितिमा पार्टी एकता हुनुपर्छ भन्ने सबैको मनमा जागेको हो, सबैलाई मिलाएर जानुपर्छ भन्ने भावनाको विकास भएर यसरी अगाडि बढेका हौं ।’
केन्द्रमा जे(जस्तो राजनीतिक स्थिति उत्पन्न भए पनि हामी कर्णालीमा एकताबद्ध भएर जानुपर्छ भन्ने पक्षमा आफूहरु रहेको उनले बताए। नेपाल पक्षका अर्का सांसद् कुर्मराज शाहीले नयाँ सरकार गठनका लागि आफूहरूले ढोका खोलिदिएको बताए।
देशका बिभिन्न भागमा खनाल(नेपाल पक्षले समानान्तर कमिटीहरु गठनका विषयमा शाहीले भने, ‘पार्टीको विधानमा विचार समूह गठन गर्न पाउने व्यवस्था भएकाले विचार समूह गठन गर्नु गलत होईन। तर कर्णालीमा त्यस्तो समूह गठनको कुनै कुरा छैन।’
पार्टीको नेतृत्वले दमन गरेर अगाडि बढ्न खोज्यो भने त्यो बेला विचार समूह गठन गर्नु स्वभाविक रहेको पनि उनले बताए।
प्रतिक्रिया