९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

माओवादी केन्द्रद्धारा लुम्बिनी प्रदेशका दुई सासंदलाई कारबाही



रुपन्देही ।
नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशका सांसदद्वय दधिराम न्यौपाने (रुपन्देही) र दिनेश पन्थी(गुल्मी) लाई माओवादीले कारवाही गरेको जानकारी लुम्बिनी प्रदेश सभालाई गराइएको छ ।

एमालेमा प्रवेश गरेर ओली समूहको केन्द्रीय सदस्य बनेका न्यौपाने र पन्थीलाई पार्टीले कारवाही गरेको पत्र आएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले बताए ।

उनले प्रदेशसभाको नियमावली १९० अनुसार पत्र आएको बताए । अब नियमावली १९१ अनुसार सभामुखले प्रदेशसभालाई जानकारी गराउने बताए । ‘सभामुखज्यूले पत्रमा तोक पनि लगाउनु भयो । अब कारवाही गरेपछि वहाँहरुको सांसद पद खारेज हुनेछ ।’

माओवादी छाडेर एमालेमा प्रवेश गरेपछि न्यौपाने र पन्थीलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, एक हप्ता बितिसक्दा पनि उनीहरुले स्पष्टीकरणको जवाफ दिएका नदिएपछि पार्टीले कारवाहीको लागि पत्र पठाएको माओवादीका संसदीय दलका नेता बसन्त घर्तीले बताए ।

लुम्बिनी प्रदेशमा कुल ८७ सांसद छन् । माओवादीको २० सांसद छन् । तीमध्ये माओवादीका एकजना सभामुख भएकाले भोटिङ गर्न १९ जनाले मात्रै पाउँछन् । तीमध्ये दुईजना एमालेमा प्रवेश गरिसकेका छन् । प्रदेशसभामा नेपाली काँग्रेसका १९ सांसद छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७७ सोमबार ००:००  ७ : १० बजे