७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

राजापानी युवक मृत्यु प्रकरणः परिवार भन्छन् ‘हत्या नै हो’ प्रहरी भन्छ ‘अनुसन्धान जारी छ’



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ३ का युवक २६ बर्षीय कपिल बेलबासेको मृत्युलाई परिवारले हत्या भनेका छन् । होलीको उमंग सकेर सोमबार साँझ साथीकहाँ गएका कोपिल फेरि घर फर्केर आएनन् । अर्को दिन मंगलबार उनी राजापानीको पार्क नजिकै मृत भेटिएका थिए ।

घटनाको प्रकृतिलाई हेर्दा त्यो मृत्यु नभएर हत्या भएको पारिवारिक श्रोतले बताएको छ । सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम प्रदेश संवादसंग कुराकानी गर्दै मृतक कोपिल बेलबासेका माइला बुबा लक्ष्मण बेलबासेले यो हत्या नै भएको बताउनु भयो ।

अन्तर्वार्तामा उहाँले भन्नुभयो– ‘सररी घटनाक्रम हेर्दा हत्याकै रुपमा देखिएको छ सर । खुट्टा बाँधिएको, हात काटिएको अवस्थामा, बाँधेर पल्टाएको छ । यस्तो पनि मृत्यु हुन्छ र ? उहाँले यो एक्लै नभएर सामुहिक रुपमा भएको भन्दै घटनाको छानविन गरी तुरुन्त अपराधीलाई पत्ता लगाउन माग गर्नु भएको छ ।

सरल प्रकृतिको, कसैसंग झै-झगडा नगर्ने, कसैसंग दुश्मनी नसाँध्ने खालको आफ्नो छोरामाथि कसले किन यस्तो गरेको केही थाहा नपाएको भन्दै उहाँले दुख पनि ब्यक्त गर्नुभयो । परिवारका जेठा सन्तानको रुपमा कोपिल रहेको बताउँदै अहिले आमा र बुबा बेहोसजस्तै भएको उहाँको भनाई छ । प्रहरीले मंगलबार दिनभर गरेको अनुसन्धानलाई परिवारले प्रसंसा गरेका छन् ।

वडा नम्बर ३ का वडा सदस्य कुल बहादुर शोमैले प्रहरीको रिपोर्ट नआउँदै केही भन्न सक्ने अवस्था नभएको बताउनु भयो । हत्या प्रकृतिको र अकल्पनिय घटना भएकाले यसले गाउँभरी त्रास सिर्जना गरेको उहाँको भनाई छ । घटनाको सत्यतथय पत्ता लगाई उचित छानबिन गर्न आफू र गाउँलेबासीको माग रहेको उहाँले बताउनु भयो ।

यता प्रहरीले भने नआत्तिन शोकसन्तप्त परिवारजनलाई आग्रह गरेका छन् । प्रदेश संबाद रेडियो कार्यक्रममा बुधबार विहान छोटो प्रतिक्रिया दिँदै जिल्ला प्रहरी प्रमुख नवराज अधिकारीले घटनाको अनुसन्धान भइरहेको बताउनु भयो ।

शंका लागेका १८ जनालाई नियन्त्रणमा लिइ सोधपुछ भइरहेको, कुकुरको समेत प्रयोग गरी अनुसन्धान भइरहेको भन्दै नआत्तिन उहाँले आग्रह गर्नुभयो । पोष्टमार्टम रिपोर्ट अझै आइनसकेकाले रिपोर्टपछि मात्र अरु कुरा बोल्ने बताउनु भयो । हत्याका सबुतहरु फेला परेमा त्यसलाई जसरी पनि पत्ता लगाउने उहाँले बचन दिनुभएको छ ।

उहाँले भन्नुभयो–‘घटनास्थल शिल गरिएको छ, जिल्लाको सिंगो टिम नै त्यहाँ छ । परिवारको पीडा हामीले बुझेका छौँ तर प्रमाणित नहुँदासम्म यो भन्न मिल्दैन, हामीलाई स्वतन्त्र अनुसन्धानमा सघाउनुहोस् ।’ घटनापछि स्थानीयमा पनि त्रास सिर्जना भएको छ । स्थानीयले संकटकालपछि राजापानीमा यस्तो हत्या प्रकृतिको घटना भएको बताएका छन् ।

बाँकी तलको लिंकमा सुन्नुहोस्

प्रकाशित मिति : १८ चैत्र २०७७ बुधबार ००:००  १० : ३६ बजे