काठमाडौं ।
आज तराई र मधेस क्षेत्रमा धुमधामका साथ फागु पूणिर्मा अर्थात् होली पर्व मनाइँदैछ । हिजो पहाडी जिल्लाहरुमा होली मनाइएको थियो ।
होली पर्व आज तराईका जिल्लाहरुमा रंग र अबीर लगाएर मनाइँदै छ । होली पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व छ ।
दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रल्हाद बच्न सफल भएको खुशियालीमा होली मनाउने गरिन्छ ।
परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ । होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउँछ ।
होलीका अवसरमा विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गर्ने गरिन्छ । होलीका अवसरमा सरकारले आज तराईका जिल्लाहरुमा सरकारी विदा दिएको छ ।
काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र अबीर लगाएर होली पर्व मनाउँदैछन् ।
प्रतिक्रिया