अर्घाखाँची ।
जिल्लाको सन्धिखर्क नगरपालिका-११ मा रहेको रक गार्डेन उचित प्रवर्द्धदनको पर्खाइमा छ। देख्दै अनौठो लाग्ने अनौठो खालको कडा चट्टानहरु रहेको यस स्थानको प्रवर्द्धन गर्न सके पर्यटकीय गन्तव्यको रुपमा विकाश गर्न सकिने स्थानीय बताउँछन्।
प्राकृतिक रुपमा सजिएका कडा काला चट्टान निकै आकर्षण देखिन्छ। विजय माध्यमिक विद्यालय डिभर्नाको नाममा रहेको १ सय ३४ रोपनी २ आना ३ पैसा जग्गामध्ये करिव ८० रोपनी जमिन रक गार्डेनले ओगटेको छ।
स्थानीयको अपेक्षा
यस ठाउँको प्रवर्द्धनका लागि तिनै तहका सरकारले चासो दिनुपर्ने स्थानिय बासिन्दाको माग छ। फाट्टफुट्ट रुपमा आन्तरिक पर्यटकहरु आउन थाले पनि उचित प्रवर्द्धन हुन नसक्दा बाहृय पर्यटकहरु अझै आउन नसकेको स्थानीय युवराज आचार्यले बताए।
उनले यस ठाउँको अवलोकन गर्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरुको आधारभुत आवश्यकता शौचालय, बस्ने भवन , खाँनेपानीको व्यवस्था जस्ता पूर्वाधार निर्माण गर्न आवश्यक भएको बताए।
सम्पूर्ण पूर्वाधार निर्माण गर्न स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारबाट बजेट बिनियोजन नभए सम्म यसलाई पर्यटकीय गन्तव्यको रुपमा बिकाश गर्न नसकिने स्थानिय गोपाल बस्यालको भनाइ छ। उनले भने, ‘पर्यटकहरुलाई रक गार्डेनस्थलसम्म ल्याउन तलैबाट सडक तथा सिढी निर्माण गर्न आवश्यक छ।’
प्रदेश सरकारको नजर
पछिल्ल्लो समय आन्तरिक तथा बाहृय पर्यटकहरुको विस्तारै चहल पहल बढेसँगै यसको आधारभूत विकासका लागि लुम्बिनी प्रदेशबाट प्राप्त १० लाख रुपैयाँले शौचालय, प्रवेशद्वार, वनभोजस्थल, खानेपानी लगायतका पुर्वाधार बनाउने तयारी भइरहेको छ। यसलाई बगैँचाको रुपमा विकाश गरि नौलो खालको पर्यटकीय स्थल बनाउन आफू लागिपरेको लुम्बिनी प्रदेश सभा सदस्य चेतनारायण आचार्यले बताए।
प्राकृतिकले पनि अनौंठो बरदान दिएको भन्दै प्रदेश सभा सदस्य आचार्यले भने, ‘यसलाई बगैचाको रुपमा बिकाश गर्न प्रदेश सरकारबाट १० लाख रकम विनियोजित गरिएको छ।’ आगामी दिनमा प्रदेश सरकारबाट थप रकम बिनियोजित गरेर यस रक गार्डेनस्थललाई लुम्बिनी प्रदेशकै नौलो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य रहेको प्रदेशसभा सदस्य चेतनारायण आचार्यको भनाइ छ।
प्रतिक्रिया