काठमाण्डौ ।
मेलम्चीको पानी काठमाण्डौमा वितरण गर्न सुरु गरिएको छ । महाङ्काल चौरमा रहेको ट्याङ्कीको भल्भ खोलेर पानी वितरण सुरु गरेको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले जानकारी दिनुभयो ।
अहिले चावहिल, महाङ्काल क्षेत्रमा वितरण सुरु गरेको पनि उहाँले बताउनुभयो । आइतवार बेलुकासम्म काठमाण्डौको मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पनि पानी वितरण हुनेछ ।
पहिलो चरणमा मेलम्चीको पानी चार ठाउँमा गएपछि सुन्दरीजलबाट पानी दोस्रो चरणमा बालाजु पोखरीमा पठाइने लिमिटेडको तयारी छ । त्यसपछिका चरणमा महाराजगञ्ज, पानीपोखरी र बाँसबारी पोखरीमा पठाइने छ ।
अहिले पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण भए पनि बिस्तारै दैनिक साढे ६ करोड लिटर पानी भित्रिने केयूकेएलले जनाएको छ । काठमाण्डौ उपत्यकामा पाइपको अवस्था हेरेर दैनिक साढे आठ करोड लिटर पानी आउनेछ ।
अहिले एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोड लिटरसम्म पानी आउनेछ । दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ ।
एक हप्तापछि दैनिक १७ करोड लिटर पानी वितरण थालिने केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो ।
मेलम्ची खानेपानी आयोजनाले गएको फागुन १० गते पानी परीक्षणका लागि सुरुङमा पठाएका थियो । त्यसको दुई हप्तापछि पानी सुन्दरीजलसम्म आइपुगेको थियो । २०५६ सालमा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एसियाली विकास बैंकले सन् २००१ मा सम्झौता गरेको हो ।
१५ चैत्र २०७७ आइतबार ००:००
20
Shares
प्रतिक्रिया