७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

देशभरका विभिन्न शहरको हावामा प्रदुषणको मात्रा घटेन



काठमाडौं ।
आज पनि देशभरका विभिन्न सहरको हावामा प्रदुषणको मात्रा घट्न सकेको छैन । अहिले बिहानको समयमा काठमाडौंको हावामा प्रदुषणको मात्रा ४ सय २० माइक्रोग्रामसम्म पुगेको छ ।

त्यस्तै चितवनमा ४ सय १०, हेटौडामा ४ सय ९, भक्तपुरमा ३ सय २६ माइक्रोग्रामसम्म पुगेको छ । आज पनि समग्र काठमाडौंको हावामा प्रदुषणको मात्रा ३ सय ३ माइक्रोग्राम पुगेको भन्दै विश्वकै प्रदुषित हावा भएको सहरको सूचीमा परेको छ ।

काठमाडौंपछि चीनको बेइजिङ र पाकिस्तानको लाहौर सहर बढी प्रदुषित हावा भएको सहरको सूचीमा परेका छन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार १० देखि २५ माइक्रोग्राम स्वास्थ्यका लागि सुरक्षित हुन्छ ।

२५ देखि ४० माइक्रोग्राम भए हल्का प्रदुषित हावाका रूपमा लिइन्छ । नेपालमा भने ५० माइक्रोग्राम स्वास्थ्यका लागि सुरक्षित मानिएको छ । १ सय ५० भन्दा माथिको प्रदुषण भए खतराजन्य परिस्थितिका रूपमा हेरिन्छ र यसबाट सकेसम्म जोगिएर बस्नुपर्ने हुन्छ । यस्तो जोखिमयुक्त अवस्थामा सकेसम्म घरबाहिर ननिस्कन र स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।

यता वायु प्रदूषणका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान एवम् अवतरण प्रभावित भएको छ ।

विमानको उडान–अवतरणका लागि कम्तीमा १६ सय मिटर भिजिबिलिटी हुनु पर्ने भए पनि एक हजार मिटर मात्रै हुँदा शनिबार बिहानैदेखि उडान प्रभावित रहेको त्रिभूवन विमानस्थलले जनाएको छ ।

सामान्य अवस्थामा बिहान ६ बजेदेखि नै उडान तथा अवरण हुने गरेकोमा शनिबार विमानस्थल ठप्प छ । अहिले नै यो समयमा उडान–अवतरण सुरु हुन्छ भन्न सकिने अवस्था नरहेको र आफूहरुले भिजिबिलिटी निगरानी गरिरहेको त्रिभूवन विमास्थलका अधिकारीले बताएका छन् ।

भिजिबिलिटी नहुँदा मेलसियाको क्वालालम्बपुरबाट आएको हिमायलन एअरलायन्सको जहाज भारतको बनारस डाइभर्ट भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ चैत्र २०७७ शनिबार ००:००  १० : ०१ बजे