रुकुम पश्चिम ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १० गारावाङमा आगो निभाउने क्रममा जलेर एक जनाको ज्यान गएको छ । जङ्गलमा लागेको आगो गाउँतिर पसेपछि आगो निभाउने क्रममा ४५ वर्षीया सर्केनि दमाईको जलेर ज्यान गएको हो । आगो निभाउन खोज्दा जलेकी सर्केनीको घटनास्थलमै ज्यान गएको वडा सदस्य तिलक खड्काले जानकारी दिनुभयो ।
गाउँलेसँगै आगो निभाउन खटिएकी सर्केनिलाई आगोले भेटेको थियो । त्यस्तै आगलागीका कारण गगन जैसीको गोठ जलेर नष्ट भएको छ । बिहीवार वडा नम्बर १० को राजिखेत भन्ने ठाउँबाट सुरु भएको आगो आधा दर्जनभन्दा बढी जङ्गलमा फैलिएको वडा सदस्य खड्काले बताउनुभयो ।
आगो गाउँतिर फैलिएपछि स्थानीयवासी त्रसित बनेका छन् । आगो छेकेर गाउँ बचाउने प्रयासमा उनीहरू जुटेका छन् । आगो नियन्त्रणमा आउन सकेको छैन । सुविखाली सामुदायिक वन, चमेरेपातल सामुदायिक वन, चक्कुलाउने कबुलियति वन, तेस्रापाखा सामुदायिक वन, देउरालीचुरा राष्ट्रिय वन र वयाल्ने राष्ट्रिय वनमा आगो लागिरहेको छ ।
१३ चैत्र २०७७ शुक्रबार ००:००
28
Shares
प्रतिक्रिया