बुटवल ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को लुम्बिनी प्रदेशसभा संसदीय दलको बैठकले प्रमुख सचेतकमा तुलाराम घर्ती र सचेतकमा पार्वती पुन गहतराजलाई चयन गरेको छ ।
संसदीय दलका नेता कुलप्रसाद केसीको अध्यक्षतामा बिहीबार बसेको बैठकले माओवादी केन्द्रका सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको छ । उनीहरु हालै नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित भएका छन् ।
न्यौपाने रुपन्देही–१ को (क) बाट र पन्थी गुल्मी–१ (ख) बाट निर्वाचित भएका थिए । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा फर्किए पनि प्रदेशमा हाल दुवै दलको संयुक्त सरकार छ ।
माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने कि कायम राख्ने भन्नेबारे ठोस निर्णय गरेन ।
प्रतिक्रिया