२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025

अर्थमन्त्रीले भनेः फेरि लकडाउन हुँदैन



काठमाडौं ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि फेरि लकडाउन नहुने स्पष्ट पारेका छन्। कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमा नाका बन्द नगरिने बताएका हुन्।
बिहीबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताएका हुन्।
उनले भने, ‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ। कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनुपर्ने छ। अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र सूचारु पनि गर्नुपर्ने आवश्यकता छ। त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौं। अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन। त्यो अहिले उपयुक्त पनि हुँदैन।’

बजेट तयारीमा जुटेका छौँ

अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताए। सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि शुरु भइसकेको बताए। कोभिडपछिको आर्थिक पुनरोत्थान, रोजगारी सिर्जनालगायतका विषयमा केन्द्रित भएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले बताए। उनले भने, ‘हामी बजेटको तयारीमा जुटेका छौं। सिद्धान्त र प्राथमिकताको तयारी करिब अन्तिम चरणमा आइपुगेको छ। सँगसँगै हामी बजेटको तयारीमा पनि जुटि नै रहेका छौं। समग्रतामा पछि बताउँला, उपयुक्त समयमा चर्चा गरौंला। मुख्य गरीकन हामी कोभिडपछिको आर्थिक पुनरोत्थान, रोजगारी सिर्जना जस्ता विषयहरुमा बढ्ता केन्द्रित हुन्छौं। नेपाली अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन र गतिशील बनाउनका लागि गर्नुपर्ने निर्णहरु लिने गरी बजेट लिएर आउँछौं।’

राष्ट्रिय प्राथमिकताका विषयहरूलाई निश्चित गर्ने र बजेट कार्यान्वयनलाई सुनिश्चितता गर्नेकुरालाई ध्यान दिएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे । उनले भने, ‘अहिले हामी दुईवटा कुरामा केन्द्रित हुन चाहिरहेका छौं। बजेटले राष्ट्रिय प्राथमिकतालाई ठिक ढङ्गले चिनेर आउँछ। राष्ट्रिय सन्दर्भमा प्राथमिकताहरु ठिक ढंगले निश्चित गरेर आउँछ। दोस्रो, बजेट कार्यान्वयनको सुनिश्चितता गरिन्छ। दुईवटा कुरामा हामी बढी ध्यान दिन्छौं। बजेट सार्वजनिक गरेर मात्रै हुँदैन त्यसको प्रभावकारी कार्यान्वयन धेरै महत्वपूर्ण विषय रहेको प्रति पनि सरकार सचेत रहेको उनको भनाइ थियो। कोरोना भ्याक्सिन खरिदका लागि बजेटको अभाव हुन नदिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे।

प्रकाशित मिति : १२ चैत्र २०७७ बिहिबार ००:००  ५ : ३२ बजे