८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

भोलिको गुट भेलामा गए र गराए कारबाही हुन्छः ओली



काठमाडौं ।
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाल-नेपाल समूहले आयोजना गर्ने कार्यकर्ता भेलामा सहभागी नहुन नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
बालुवाटारमा मंगलबार आयोजित चियापान समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भोलि र पर्सी आयोजना हुने राष्ट्रिय कार्यकर्ताको भेलामा सहभागी नहुन अनुरोध गरेका हुन्।
पार्टीले माघ ७ गते केन्द्रीय कमिटिको बैठक बोलाएको भन्दै त्यसअघि नै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको भन्दै अनुशासनहीन काम गरेको खण्डमा विधानअनुसार कारबाही गरिने चेतावनी दिए।
‘गुटगत भेला गर्ने, समूहलाई आफ्नो पक्षमा लिएर पार्टीको विधान, अनुशासनविपरीत कार्यक्रम गरिएको खण्डमा विधानअनुसार कारबाही गरिनेछ’, अध्यक्ष ओलीले भने।

‘सुन्दैछु भोलि भेला आयोजना गरेको छ रे। नेकपा एमालेसँग आवद्ध, सम्बन्ध कोही नेता वा कार्यकर्तालाई गुटगत भेला नगर्न, नगराउन र त्यस्ता भेलामा सरिक नहुन नजान सचेत गराउन चाहन्छु’, अध्यक्ष ओलीले भने, ‘पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु। त्यस्ता गुटगत भेलामा सरिक नहुन तमाम् कार्यकर्तालाई अनुरोध गर्छु।’
उनले भोलिको भेलामा एक नजर त्यतातिर लगाउनेसमेत बताए। सत्यसँग नलड्ने र निहु खोज्नेहरूसँग नझुक्ने आफ्नो नीति भएको प्रधानमन्त्री ओलीको भनाई छ। आजको चियापान कार्यक्रममा सहभागी नहुन भनेर गुटको बैठक नै बसाएर निर्णय गरेको सुन्नमा आएको भन्दै त्यस्तामाथि थप कदम चालिने ओलीको चेतावनी छ।
आफ्नो नीति कसैप्रति पनि लाचार र रिस बैभवको भावना नरहेको भन्दै गलत गर्नेलाई कुनै पनि हालतमा नछाडिने बताए। विचार केन्द्रीत अनुशासित, र संगठित भएर अगाडि बढ्नुपर्ने भन्दै ओलीले विचारको राजनीति गर्ने छुट सबैमा भएको बताए।

प्रकाशित मिति : ३ चैत्र २०७७ मंगलबार ००:००  १ : ३३ बजे