९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बाघ पहिचान गर्न क्यामेरा जडान



बर्दिया ।
जिल्ला वन कार्यालयले स्थानीयलाई आक्रमण गर्ने बाघ पहिचान गर्न विभिन्न स्थानमा ८ वटा क्यामेरा जडान गरेको छ ।

बाघको आक्रमणबाट गत असोज ५ र कात्तिक ११ गते मधुवन–३ मा दुई जनाको ज्यान गएपछि त्यहाँ क्यामेरा जडान गरिएको हो । क्यामेरामा चारवटा बाघ कैद भए पनि आक्रमण गर्ने बाघ पहिचान हुन सकेको छैन ।

मानिस मार्ने बाघ पहिचान नहुँदा नियन्त्रणमा लिन नसकेको डिभिजन वन अधिकृत महेन्द्र वाग्लेले बताए । ‘गौरी सामुदायिक वनमा शनिबार पनि बाघ क्यामेरामा देखिएको छ,’ उनले भने । स्थानीयले त्यस क्षेत्रमा डमरुसहित चारवटा बाघ देखिने गरेको बताए ।

सीमावर्ती भारतीय संरक्षित क्षेत्र कतरनियालाई बर्दिया निकुञ्जसित जोड्ने खाता जैविक मार्ग हुँदै वन्यजन्तु ओहोरदोहोर गर्ने गर्छन् । त्यस्तै गेरुवा–४ मा बर्दिया निकुञ्जले चारवटा क्यामेरा जडान गरेको छ ।

बाघ पहिचान गरी नियन्त्रणमा लिन चारवटा हात्ती परिचालन गरिएको निकुञ्जले जनाएको छ । चालु आवमा बर्दिया निकुञ्ज र आसपासका क्षेत्रमा आठ जनाको ज्यान लिए पनि नरभक्षी बाघको पहिचान गरी नियन्त्रणमा लिने प्रयास विफल भएको छ । एउटा बाघ समातेर खोरमा राखिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७ सोमबार ००:००  ९ : ४९ बजे