काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आउँदो ४ र ५ गतेका लागि तय गरेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ । सोमवार बानेश्वरमा बसेको यस समूहको केन्द्रीय सदस्य तथा सांसदको बैठकले यस्तो निर्णय लिएको हो ।
यस्तै नेपाल–खनाल समूहले मङ्गलवार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा आयोजित चियापान कार्यक्रममा जानेरनजानेबारे कुनै निर्णय लिएको छैन । यस समूहले अहिलेकै अवस्थामा ओलीले निम्ता गरेको चियापान र केन्द्रीय कमिटी बैठकमा नजाने अडान राखेको छ ।
यसअघि नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनाल समूहबीच भएको वार्ता निष्कर्षविहीन भएको थियो । पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा दुवै पक्षले पार्टीलाई एकताबद्ध गर्दै अघि बढाउने प्रतिबद्धता जनाए पनि आ–आफ्ना अडानमा रहेपछि निष्कर्ष ननिस्किएको हो ।
गएको फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपा पूर्ववत् रूपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अवस्थामा पुगेको भन्दै त्यसपछिका निर्णयको प्रभाव शून्य हुनुपर्ने अडान नेता नेपाल पक्षले राखेको थियो । त्यस प्रस्तावअनुसार अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसलापपछि फागुन २८ गते गरेको निर्णय फिर्ता वा खारेज गरेको जानकारी गराउनुपर्ने थियो ।
तर २८ गतेको निर्णय खारेज गर्ने पक्षमा ओली नरहेपछि वार्ता सकारात्मक दिशामा अघि बढ्न नसकेको प्रतिक्रिया नेपाल–खनाल पक्षका नेताले दिएका छन् ।
प्रतिक्रिया