९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

शिवको जन्मदिनको रुपमा बाणगंगामा शिवरात्री पर्व बनाइयो, भयो ‘शिवध्वजारोहण’



मायादेवी अनलाइन, चारनम्बर ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइएको छ ।

आज कपिलवस्तुका विभिन्न शिवालय मन्दिर सहित देशभरका शिवालय मन्दिरमा भक्तजनको घुँइचो लागेको थियो । बिहानैबाट विभिन्न शिवालयमा दर्शनार्थी पुजाका लागि पुगेका थिए ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

यसैबीच बाणगंगाको ब्रहम्कुमारी ईश्वरीय विशवविद्यालयमा पनि महाशिवरात्री पर्व धुमधामका साथ मनाइएको छ । विश्वविद्यालयको कार्यालय चार नम्बरमा शिवको जन्मदिनको रुपमा शिवरात्री पर्व मनाइएको हो । केक पनि काटियो भने शिवध्वजारोहण पनि गरियो ।

विश्वविद्यालयी प्रमुख गिता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य विमला घिमिरे, प्रदेश सांसद विष्णु पन्थी, बाणगंगा नगरपालिकाका उप-प्रमुख चक्रपाणी अर्याल, वडा नम्बर १ का वडाध्यक्ष बाल कुमारी पन्त, ५ का वडाध्यक्ष भीष्मराज भुसाल लगायतको सहभागितामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै घिमिरे र पन्थीले ब्रह्मा कुमारी विश्व विद्यालयलाई अब नयाँ भवनमा सार्ने प्रतिवद्धता जनाउनु भएको छ । भौतिक विकास मात्र विकास नहुने भन्दै मानिसको मानसिक अवस्थाको विकास आवश्यक भएको उहाँहरुले बताउनु भयो ।

यस क्षेत्रका जनतालाई नैतिकवान बनाउन विश्वविद्यालयको महत्वपूर्ण योगदान रहेको भन्दै ध्यान, योग र साधना गर्न मिन्ले गरी ठुलो भवन निर्माणमा पहल गर्ने उहाँहरुले बताउनु भयो ।

कार्यक्रममा नगर उप-प्रमुख चक्र अर्याल, वडा नम्बर १ का वडाध्यक्ष बाल कुमारी पन्त, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे लगायतले बोल्नु भएको थियो । अभियान्ता गिता दिदीले भवन नहुँदा आफूले गर्न खोजेका काम गर्न नसकेको भन्दै गुनासो राख्नुभएको थियो । कार्यक्रमको संचालन सो विश्व विद्यालयका भक्ति पाण्डेले गर्नु भएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७ बिहिबार ००:००  ८ : ०६ बजे