मायादेवी अनलाइन, चारनम्बर ।
पूर्वमन्त्री तथा संघीय सांसद चक्रपाणी खनाल बलदेवले विकासमा कसैले पनि राजनीति गर्न नहुने बताउनु भएको छ । विकासमा राजनीति हावी हुँदा मुलुक धेरै पछाडी परेको भन्दै अबदेखि सबैले त्यस्तो प्रवृत्ति त्याग्नु पर्ने उहाँले बताउनु भएको हो ।
बाणगंगा नगरपालिका वडा नम्बर ४ ठाकुरापुरमा विहीबार बहुउद्धेश्यीय कभर्डहलको शिल्यान्यास गर्दै उहाँले खेलकुद देशको गहना भएको बताउनु भयो । देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा महत्वपूर्ण क्षेत्र खेलकुद भएको भन्दै उहाँले देशभर यस्ता कभर्ड हल र खेल मैदान बन्नु पर्ने बताउनु भयो । यो कभर्ड हलको काम बजेट अभावमा रोकिन नदिने पनि उहाँको प्रतिवद्धता छ ।
बाणगंगा मावि गजेहडाको चौर खेलाडी उत्पादन गर्ने जिल्लाकै ग्रहणी थलो भएको हुनाले यहाँबाट अहिले पनि थुप्रै खेलाडी अगाडी बढेको आफुले पाएको उहाँले बताउनु भयो । कभर्ड हलमा सांसद विकास कोषबाट १० लाख रुपैयाँ छट्याउनु भएका उहाँले बाणगंगा नगरपालिका बजेट सदुपयोग हुने जिल्लाकै एक मात्र पालिका भएको बताउनु भयो ।
उहाँले भन्नुभयो–‘जिल्लाका अन्य पालिका र दक्षिणतिर विकासमा विनियोजन गरेको रकमबाट कामै हुँदैन । करोडौँका योजनाका काम बजेट हुँदाहुँदै अलपत्र छन् । राजनीति हावी हुन्छ । तर बाणगंगा यसमानेमा सफल छ । यहाँ छुट्याएको बजेट सदुपयोग हुन्छ ।’
फरक प्रसंगमा पूर्वमन्त्री बलदेवले संसद फेरि पनि नरहन सक्ने आशयको भनाई राख्नु भएको थियो । उहाँले भन्नुभयो ‘अहिलेलाई सांसद विकास कोषबाट कभर्ड हलको काम सुरु गर्न १० करोड बजेट विनियोजन गरेको छु । सांसद रहेछु भने फेरि पनि बजेट छुट्याउँला । संसद फेरि पनि नरहन सक्छ ।’ बोल्नु अघि उहाँले कभर्डहलको जगमा पुजा गरेर शिलयान्यास गर्नुभएको थियो ।
कार्यक्रममा संविधान सभा सदस्य डोर प्रसाद उपाध्याय, सांसद, विष्णु पन्थी, बाणगंगाका उप-मेयर चक्र अर्याल, बाणगंगा माविका प्रधानाध्यापक राम प्रसाद भण्डारी, वडा सदस्य इन्दिरा पन्त, महिला संघकी केन्द्रिय सदस्य इन्दिरा भट्टराई, ठाकुरापुर टोल विका समितिका अध्यक्ष हरि पौडेल, लगायतको सहभागिता थियो ।
वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्रीको अध्यक्षता, नव प्रभात युवा क्लव ठाकुरापुरका अध्यक्ष मिलन चालिसेको स्वागत मन्तव्य र रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कभर्ड हल निर्माण सम्पन्न हुँदा ५० लाख बढी रकम लाग्ने अनुमान गरिएको छ । सो कभर्ड हलमा भलिवल, बास्केट बल, ब्याडमिन्टन, बिभिन्न सभा समारोह गर्न सकिने वडाध्यक्ष क्षेत्रीले बताउनु भयो ।
प्रतिक्रिया