मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले आयोजना गरेको तेश्रो मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत बुधबार भएको मैत्रीपूर्ण खेलमा नगरको पत्रकार समुह विजयी भएको छ ।
विहान १० बजे सकिएको खेलमा पत्रकार समुहले बाणगंगा नगरपाललिकाको कर्मचारी समुहलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पत्रकारलाई जित दिलाउन मायादेवीका स्टेसन मयानेजर चन्द्रकान्त न्यौपानेले २ तथा मायादेवी मिडिया ग्रुपका अध्यक्ष हरि अधिकारीले १ गोल गरेका थिए ।
खेलको पहिलो हाफको १२ औँ मिनेटमा कर्नरबाट आएको बललाई अधिकारीले जाली चुमाउँदै अग्रता दिलाएका थिए भने त्यसको १० मिनेटपछि न्यौपानेले कर्मचारीको रक्षापंतीलाई बिट गर्दै डि एरियाबाहिरको बललाई जाली चुमाएका थिए ।
पहिलो हाफ २–० ले अघि बढेको अवस्थामा पत्रकारसमुहले दोश्रो हाफमा थप १ गोल थप्यो । खेलको म्यान अफ दि म्याच बनेका न्यौपानेले दोश्रो हाफको १२ मिनेटमा अर्को गोल थपेर जित सुनिश्चित गरेका थिए ।
यतिखेर पनि डिबक्सभन्दा बाहिरको बललाई कडा प्रहार गर्दै न्यौपानेले जालीको दिसा देखाएका थिए । विपक्षीका गोल किपरले रोक्ने प्रयास गरे पनि हातमा लाग्दै बल जालीभित्र प्रवेश गरेको थियो ।
कर्मचारी समुहले पनि कडा आक्रमण गरेको थियो । तर पत्रकारका गोल किपर बाणगंगा एफएमका राजेन्द्र अर्यालले उत्कृष्ट बचाउ गर्न सफल बनेका थिए ।
यता कर्मचारीको तर्फबाट जर्सी नं. ११ का महेश भट्टराईले खेलको अन्तिम समयमा एक मात्र सान्त्वना गोल गरेका थिए ।
प्रतियोगितामा बाणगंगामा सक्रिय पत्रकारिता गरिरहेका एफएम, टिभी, अनलाइन र पत्रिकामा काम गरेका पत्रकारको सहभागिता थियो । पत्रकारको समुह पत्रकार महासंघका सचिव समेत रहनु भएका हरि अधिकारीको कप्तानीमा मैदानमा उत्रेको थियो ।
प्रतिक्रिया