९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सेनालाई जबरजस्ती विवादमा तान्ने प्रयास भइरहेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट



काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्कीर्ण स्वार्थका लागि समय–समयमा नेपाली सेनालाई अनावश्यक ढङ्गले विवादमा तान्ने गरिएको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सवको अवसरमा बुधवार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सेनालाई विवादमा तान्नका लागि हुने गरेका प्रयासप्रति सजग र सर्तक रहन पनि सबैलाई आग्रह गर्नुभयो । कानुन उल्लङ्घन भए सम्बन्धित निकायले हेर्ने भएकाले वादप्रतिवादमा नउत्रने संस्थालाई वादविवादमा तान्ने खालमा काम गर्नु उचित नहुने तर्क उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आफ्ना सङ्कीर्ण स्वार्थका लागि नेपाली सेनालाई अनावश्यक ढङ्गले विवादमा तान्न खोज्ने, अपमान वा प्रोभोग गर्न खोज्ने लगायत विभिन्न खालका प्रवृत्ति देखिन्छन् र नेपाली सेनालाई घिसारेर विवादमा ल्याउन खोज्ने । नेपाली सेनाका सदासयतापूर्ण र राम्रा क्रियाकलापमा पनि जस नदिने, श्रेय नदिने, बरु कसरी त्यसको आलोचना गर्न सकिन्छ, विरोध कसरी गर्न सकिन्छ भनेर ठाउँ खोज्ने र अनुत्तरदायी ढङ्गले हिलो छ्याप्ने खालका कुराहरू उचाल्ने । त्यस्तो कुरा गर्नहुँदैन । नेपाली नागरिकको चेतनालाई समय–समयमा अलमलाउन खोज्ने, भ्रममा हाल्न खोज्ने प्रयास पनि हुने गरेका छन् । हामी त्यस्ता प्रयाससँग सतर्क हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले सुरक्षा परिषद्को संवैधानिक कानुनी र व्यावहारिक रूपमा सही प्रयोग भइरहेको दाबी गर्नुभयो । विशेषगरी प्रतिरक्षा र राष्ट्रिय सुरक्षाको मामिलामा नेपाली सेनाको परिचालन एवम् प्रयोग सही ढङ्गले गर्ने विषयमा परिषद्ले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘सुरक्षा परिषद्को संवैधानिक कानुनी र व्यावहारिक रूपमा सही प्रयोग भएको छ र यसले आफूलाई नीति निर्माणको तहमा र कार्यक्षेत्रमा, खासगरी प्रतिरक्षा र राष्ट्रिय सुरक्षाको मामिलामा नेपाली सेना र सेनाको परिचालन एवम् प्रयोग कसरी उपयुक्त ढङ्गले हुन सक्छ भन्ने नीति र अभ्यासका अनुभवले हामीलाई परिमार्जित स्थितिमा पुर्‍याएको छ र हामी अहिले अन्योलको स्थितिमा होइन बहुतै स्पष्टताको स्थितिमा छौँ । विगतका अनुभवलाई लिएर हामी अझ स्पष्टताका साथ अगाडि बढ्न जरुरी छ ।’

तुलनात्मक रूपमा विश्वमा शान्तिको स्थिति भए पनि ठूलो सानो सबै राष्ट्रले अनुचित ढङ्गले प्रभाव विस्तारको मुद्दालाई अघि सारेको भन्दै उहाँले आफ्नो राष्ट्रिय हितको रक्षा गरिरहँदा अरूको राष्ट्रिय हितको कहीँ कतै उल्लङ्घन हुन्छ कि भन्ने कुरामा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रतिरक्षा र सुरक्षाको विषय र सैन्य परिचालनसम्बन्धी प्रश्नहरूलाई मूलतः राष्ट्रले दुई हिसाबले सोचेको पाइन्छ । प्रभाव विस्तार र सम्प्रभुताको रक्षा । हामी प्रभाव विस्तारको पक्षमा होइन हामी न्यायोचित सम्प्रभुताको रक्षा र शान्ति सुरक्षाको पक्षमा छौँ । ठूलो होस् वा सानो सबैले न्यायोचित हकको रक्षामा सैन्य शक्तिको प्रयोग गर्नुपर्दछ भन्ने हामी ठान्दछौँ । कहीँ पनि अन्यथा ढङ्गले प्रयोग गरिनु उचित हुँदै होइन । कुनै पनि राष्ट्रले आफ्नो न्यायोचित हितको रक्षा र सम्वर्द्धनमा केन्द्रित गर्नुपर्छ । आफ्नो राष्ट्रिय हितको रक्षा गरिरहँदा अरूको राष्ट्रिय हितको कहीँ कतै उल्लङ्घन हुन्छ कि भन्ने कुरामा हरेक राष्ट्र सजग सचेत हुनुपर्छ । यसअर्थमा हामी विश्वव्यापी र सर्वकालीक ढङ्गले सही सिद्धान्त, नीति र व्यवहारमा छौँ ।’
नेपाल सरकार शक्तिको आडमा नभइ सधैँ सत्यको आडमा न्यायका कुरा स्थापित गर्न चाहने भएकाले त्यहीअनुसार प्रतिरक्षा र सुरक्षालगायत नीति तय गरिएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । राष्ट्रिय र प्राकृतिक विपदको समयमा नेपाली सेनाले नै अग्र भागमा बसेर काम गर्ने गरेको उल्लेख गर्दे उहाँले सुरक्षा, सेवा र निर्माणसम्बन्धी कामलाई समुचित र व्यवस्थित ढङ्गले अघि लैजाने कुराको व्यवस्थापन सुरक्षा परिषद्ले गर्ने बताउनुभयो ।

नेपाली सेनाको राष्ट्र निर्माण, सुरक्षा र प्रतिरक्षामा महत्त्वपूर्ण योगदान र गौरवपूर्ण इतिहास रहेको तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि ख्याति कमाएको भन्दै ओलीले नेपाली सेनाको प्रशंसा गर्नुभयो । प्रधानमन्त्री ओलीले हिंसाको बाटोमा लागेकालाई शान्तिपूर्ण राजनीतिको मूलधारमा फर्काइएकाले आन्तरिक हिंसा टुङ्गिएको र विखण्डनवादको पनि अन्त्य भएकाले नेपाल राष्ट्रिय एकताको शान्तिपूर्ण र नयाँ युगको उचाइमा प्रवेश गरेको बताउनुभयो । उहाँले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय उद्देश्य र गन्तव्य प्राप्त गर्न सबै व्यवधान हटेकाले अब नेपाल सजिलै समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७ बुधबार ००:००  ३ : ५५ बजे