काठमाण्डौँ ।
जनता समाजवादी पार्टीले सांसद रेशम चौधरीको रिहाई, संविधान संशोधनलगायत मुद्दालाई सम्बोधन गर्ने पक्षलाई सरकार गठनमा समर्थन गर्ने संकेत गरेको छ । जनता समाजवादी पार्टीको मंगलबार बसेको संसदीय दलको बैठकले आफना एजेण्डालाई केन्द्रमा राखेर छलफल अघि बढाउने निर्णय गरेको हो ।
सांसद रेशम चौधरीको रिहाई, मधेस थरूहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधनलगायत सबै सवाललाई केन्द्रमा राखेर छलफल गर्ने र माग सम्बोधन हुने विश्वसनीय आधार भएपछि मात्रै पार्टीले सरकार गठनबारेको निर्णयमा पुग्ने सांसद राजेन्द्र महतोले जानकारी दिए । उनले विगतमा आफ्ना माग सम्बोधन गर्ने आश्वासन दिए पनि कांग्रेस र कम्युनिस्ट दुवैले छलछाम गर्ने गरेको उल्लेख गर्दै यसपटक भने उधारो सहमतिकसैसँग नहुने स्पष्ट पारे ।
ुहाम्रा मुद्दा केन्द्रीत भएर सबै पक्षसँग कुरा गर्छौ । हाम्रा सांसद रेशम चौधरीको रिहाईलगायत मधेस थरूहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायत सबै सवाललाई केन्द्रमा राखेर आफ्ना कुरा राख्छौँ । जो पक्ष हामीसँग कुरा गर्न चाहन्छ ऊसँग हामी कुरा गर्छौं । सबै कुरा बुझिसकेपछि पार्टीले औपचारिक निर्णय गर्छु उनले भने ।
उनले सबै पक्षसँग वार्ता गरी अवस्था बुझेर मात्रै पार्टीले आवश्यक निर्णय लिने बताए । तत्काल अपरझट कुरा गर्नुपर्ने भएकाले दुई जना साथीलाई त्यसको नेतृत्व गर्न पठाएको र पछि पार्टीले वार्ता समितिलाई औपचारिक रूपले पूर्णता दिने पनि उनले जानकारी दिए । उनले बुधबारसम्म वार्ता समितिलाई पूर्णता दिइने बताए ।
जनता समाजवादी पार्टी संसदीय दलको औपचारिक बैठक मंगलबार पहिलो पटक बसेको हो । संसदीय दलको वरिष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकसँगै राष्ट्रिय जनतापार्टी नेपाल र समाजवादी पार्टीको संसदीय दल विघटन भएर जनता समाजवादी पार्टीमा औपचारिक रूपमा समायोजन भएको छ ।
बैठकमा दल संचालनका लागि नेता चयन र संसदीय समिति गठनको लागि विधानको मस्यौदा बनाई वितरण गरिएको र अर्को बैठकले विधान पारित गरेर संसदीय दलको नेता चयन गर्ने सांसद महतोले जानकारी दिए ।
प्रतिक्रिया