९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बाँकेको नरैनापुरमा आगलागीबाट २२ घर जलेर नष्ट



बाँके ।
बाँकेको नरैनापुर गाउँपालिका-१ सुइयामा सोमवार आगलागी हुँदा २२ घर जलेर नष्ट भएका छन् । गाउँपालिकाको दलित बस्ती सुइँयामा भएको आगलागीबाट २२ घर जलेर पूर्णरुपमा नष्ट भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो । आगलागीबाट करोडौँको क्षति भएको उहाँले बताउनु भयो ।

मनिजर पासीको कच्ची घरबाट लागेको आगो क्रमशः गाउँका अन्य घरमा पनि सल्किएपछि ठूलो क्षति भएको स्थानीयवासीको बताएका छन् । सोमवार बिहान ११ बजे शुरु भएको आगलागी स्थानीय र प्रहरीको सहयोगमा २ घण्टामा नियन्त्रणमा लिइएको थियो ।

सोमबार अपराह्न ५ बजेतिर प्रजिअ कुरुम्वाङको नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले प्रभावित क्षेत्रमा पुगेर तत्काल प्रतिपरिवार १५ हजार रुपैयाँका दरले नगद राहत सहयोग गरेको केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

त्यसैगरी नेपाल रेडक्रस सोसाइटीले पनि प्रभावित परिवारलाई सात हजार बराबरको प्रतिपरिवार गैरखाद्य सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाले खानाको व्यवस्था गरिएको प्रजिअ कुरुम्वाङले जानकारी दिनुभयो ।

अहिले यहाँका स्थानीयवासीको बिचल्ली भएपछि गाँसबासको बालबच्चाहरुको निकै समस्या परेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७ मंगलबार ००:००  १ : ०५ बजे