१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

महिला आन्दोलन सकिएको छैन्, स्वरुपमात्र परिवर्तन भएको होः विमला घिमिरे



दीपा महत, जितपुर ।
राष्ट्रिय सभा सदस्य विमला घिमिरेले महिला मुक्ती, महिला हक अधिकारका लागि थालिएको आन्दोलन समाप्त नभएको बताउनुभएको छ । उहाले महिला आन्दोलन नसकिएको भन्दै आन्दोलनका स्वरुपहरु भने परिवर्तन भएको बताउनुभयो । नारी दिवसको अवसरमा वाणगंगा नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य घिमिरेले विगतको उपलब्धीलाई रक्षा गर्दै थप उपलब्धीका लागि लड्नुपर्ने बताउनुभयो । अबको लडाई भान्सामा मात्र सीमित नभई राज्यका हरेक निकायमा महिलाको समान प्रतिनिधित्व र समान पहुचका लागि हुनुपर्ने धारणा राख्नुभयो । अझैपनि पुरुषमा सामन्तवादी चिन्तन हाबी भएको भन्दै पुरुषको तुलनामा महिलामा भने केहि कम रहेको र त्यसको अब अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
कानुनले तोकेको भन्दा अन्य निकायमा महिलाहरुको ३३ प्रतिशत सहभागीता नहुनु बिडम्बना भएको भन्दै अबको आन्दोलन राज्यका हरेक निकायमा महिलाको समान तथा निर्णायक सहभागितामा केन्द्रित हुनुपर्ने बिचार ब्यक्त गर्नुभयो ।
राष्ट्रिय सभा सदस्य घिमिरेले महिलाले १८ घण्टा आफ्नो घरमा श्रम गरेपनि त्यसको कुनै मुल्याङकन नहुने गरेको भन्दै महिलाले घरमा गरेको श्रमको मूल्य राष्ट्रिय आयसंग जोडिनुपर्ने बताउनुभयो । संबिधानमा महिलाका लागि उल्लेख गरिएका हक अधिकारहरु कार्यन्वयन हुन नसकेको भन्दै अब संबिधानको कार्यन्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
महिला नेतृ घिमिरेले नेपालमा महिला आन्दोलनको इतिहास गौरवपूर्ण रहेको भन्दै महिलाका मुद्धामा सबै महिला एकपुट भएर लागेमा समस्याहरु केहि हद सम्म भएपनि निराकरण हुने बताउनुभयो ।
घिमिरेले महिला दिवसको अवसरमा एक दिन कार्यक्रम तथा भाषण गर्दैमा परिवर्तन सम्भव नहुने भन्दै अब सबैले आफैबाट परिवर्तन सुरु गर्नुपर्ने बताउनुभयो । घिमिरेले महिलाहरुले छोटो कपडा लगाएर बलात्कारका घटना बढे भन्नु अत्यन्त निकृष्ट सोच भएको भन्दै यस किसिमको चिन्तनलाई हटाउन आग्रह गर्नुभयो । देशमा स्वान्त्रता भएपनि पछिल्लो समय छाडा स्वतन्त्रता बढेको भन्दै यसले झन जटिल समस्या निम्त्याउने बताउनुभयो । यसका साथै महिलालाई सम्बोधन गर्दापनि विभेदकारी शब्दको छनोट गरिएको भन्दै त्यस्को अन्य गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७ सोमबार ००:००  २ : ४२ बजे