८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

दाहाल-नेपाल पक्षको संसदीय दलको बैठक आज, ओलीले बोलाए २३ गते



काठमाडौँ ।
नेकपाको संसदीय दलको बैठक बोलाउन दुई पक्षबीच हानाथाप भएको छ । ओली पक्षले आइतबार बैठक बोलाएपछि दाहाल नेपाल पक्षले आज नै बैठक बोलाउन लागेको हो ।

पुनःस्थापित प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो ४ बजे बस्दैछ । ओली पक्षले बैठक बस्नु एक घण्टा अघि २३ गते ३ बजेका लागि बैठक बोलाएपछि दाहाल-नेपाल पक्षले त्यसअघि आज नै बैठक राख्ने तयारी गरेको सांसद देव गुरुङले जानकारी दिनुभयो ।

गुरुङलाई हटाएर ओलीले नियुक्त गरेका प्रमुख सचेतक विशाल भट्टराईले नेकपा संसदीय दलका १७३ जनै सांसदलाई एसएमएस पठाएपछि अर्को पक्ष झस्केको छ । भट्टराईले नेकपा दलमा आबद्ध सबैलाई एसएमएसमार्फत खबर गरिएको जानकारी दिनुभयो ।

संसदीय दलका नेता ओलीले भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त गरेपछि दाहाल-नेपाल पक्षले आपत्ति जनाउँदै उक्त निर्णय कार्यान्वयन नगर्न संसद सचिवालयलाई आग्रह गरेको छ ।

ओलीलाई पार्टीले एक महिनाअघि नै साधरण सदस्यसमेत नरहने गरी कारबाही गरेको दाबी गर्दै प्रचण्डले संसदका महासचिवलाई उनले पठाएका कुनै पनि निर्णय कार्यान्वयन नगर्न भनेका छन् ।


संसद बैठक बस्ने दिन नजिकिदै जाँदा नेकपामा सांसद तानातानको अवस्था सिर्जना भएको छ । दाहाल नेपाल पक्षे ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर कांग्रेसको नेतृत्वमा सरकार बताउने तयारी तीव्र बनाएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७ शुक्रबार ००:००  ८ : १२ बजे