दाङ ।
दाङको राप्ती गाउँपालिकामा सुत्केरी आमालाई कोसेली दिन थालिएको छ । गाउँपालिकाका स्वास्थ्य चौकी तथा स्वास्थ्य इकाईमा सुत्केरी आमालाई बिहीबारदेखि ‘उपाध्यक्ष कोसली’ दिन थालिएको हो ।
पहिलो दिन लालमटिया र सिसहनियाँ स्वास्थ्य चौकीहरूबाट कोसेली दिने क्रमको थालनी गरिएको गाउँपालिकाकी उपाध्यक्ष जगदम्बा कुमारी चौधरीले जानकारी दिइन् ।
‘उपाध्यक्ष कोसेली’मा पेटीकोट, पेन्टी, नङकट, जोन्सन बेबी सोप,पाउडर, बेबी अयल एक÷एक वटाका दरले वितरण गरिएको छ । त्यस्तै सेनिटरी प्याड एक पाकेट, लुगाधुने सर्फ, आधा किलो प्रदान गरिएको उपाध्यक्ष चौधरीले बताइन् ।
‘गाउँपालिका अन्तर्गतका बर्थिङ सेन्टरमा प्रसूति गर्न आउनेहरूलाई उपाध्यक्ष कोसेली दिन थालिएको हो,’ चौधरीले भनिन्,‘सबै प्रसूति गृहमा कोसेलीको व्यवस्था मिलाइएको छ ।’
संस्थागत प्रसूतिलाई थप प्रोत्साहित गरी मातृमृत्यु तथा नवशिशु मृत्यु कम गर्न उपाध्यक्ष कोसेली कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।
आमा सुरक्षा कार्यक्रम अन्तर्गत बर्थिङ सेन्टरहरूबाट निःशुल्क २४ सै घण्टा प्रसूण्ति सेवा, न्यानो झोला वितरण, प्रोटोकल अनुसार गर्भजाँच भएकालाई गर्भवती उत्प्रेरणा, संस्थागत सुत्केरी हुने हरेक महिलालाई यातायात खर्च, ३५ दिनभित्र बच्चाको जन्म दर्ता गराए एक हजार उपलब्ध गराउँदै आइएको राउतले बताए ।
प्रतिक्रिया