७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति, विप्लवमाथिको प्रतिबन्ध हट्ने



काठमाण्डौ ।
सरकार र नेत्र विक्रम चन्द समूह विप्लवबीच तीन बुँदे सहमति भएको छ । आज बालुवाटारमा भएको वार्ताका क्रममा तीन बुँदे सहमति भएको हो । सहमति अनुसार विप्लवले आफ्ना सबै राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने उल्लेख छ ।

यस्तै, सरकारकातर्फबाट विप्लवमाथि लगाएको प्रतिबन्ध हटाउने, पक्राउ परेका विप्लवका सम्पूर्ण कार्यकर्ता रिहाइ र मुद्दा खारेजी लगायत छन् । सहमतिको विस्तृत विवरण भोलि दिउँसो २ बजे सार्वजनिक गरिने छ । आज संयुक्त विज्ञप्ति निकालेर सहमति भएको बारे जानकारी गराइएको हो । विज्ञप्तिमा सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गर्नु भएको छ ।

सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीच हिजो पहिलो चरणको औपचारिक वार्ता भएको थियो । विप्लव समूहसँग वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय सरकारी वार्ता टोली बनाएको छ । यस्तै सरकारसँग वार्ताका लागि सर्त र एजेण्डासहित खड्कबहादुर विश्वकर्माको नेतृत्वमा विप्लव समूहको वार्ता टोली गठन भएको छ । विप्लव समूह विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २०७५ सालको फागुन २८ गतेदेखि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७७ बिहिबार ००:००  १२ : ४७ बजे