७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

गुल्मीमा गुड र खुदो बेचेर वार्षिक १० लाख आम्दानी



गुल्मी ।
छत्रकोट गाउँपालिका–४ दिगामका हुमनाथ पन्थले करिब आठ रोपनी जग्गामा उखु खेती गर्दै आएका छन् । उनले आठ वर्षदेखि हरि ओम केशर मिल सञ्चालन गरी हुँगा, थानापति, धरमपानी र दिगाम क्षेत्रमा उत्पादित उखु खरिद गर्दै आएका छन् ।

पन्थले वार्षिक करिब ५० लाख बराबरको उखु, खुदो र गुडको कारोबार गर्दै आएका छन् । जसबाट खर्च कटाएर सात देखि १० लाख रुपैयाँसम्म आम्दानी हुने उनले बताए । उनले उखु, खुदो र गुड बुटवल, नारायणगढ र पोखरासम्म बिक्री गर्दछन् ।

खुदो प्रतिलिटर ११० देखि १२० रुपैयाँ, सादा गुड प्रतिलिटर १७० र मसलावाला गुडको २२० रुपैयाँमा बिक्री हुने गरेको हरिकला पन्थले जानकारी दिइन् । उनको उखु मिलमा तीनजना नियमित कामदार र आवश्यक पर्दा दैनिक ज्यालादारी कामदार समेत राख्ने गर्छन् ।

सोही वडामा न्यौपाने कृषि तथा पशु फर्म दर्ता गरी नीलाकण्ठ नयौपानेले व्यावसायिकरुपमा खुदो, गुड उत्पादन गर्छन् । गुड र खुदोमा गुणस्तरता कायम गर्न तालिम आवश्यक भएको उनले बताए ।

वडा नम्बर ४ का अध्यक्ष डिलाराम न्यौपानेले उखु किसान र फर्म तथा मिलहरुलाई आवश्यक सहयोग गर्ने बताए । केही समयअघि गाउँपालिकाले ड्रमलगायत केही उपकरणहरु ५० प्रतिशत अनुदानमा दिएको उनले बताए ।

पन्थले उखु, खुदो र गुड पोखरा, नारायणगढसम्म ढुवानी गर्दा अनलाइन बिल नभएको भन्दै चेकिङमा समस्या आउने गरेको बताए ।

उनले भने, ‘गाउँका हामी सोझा किसानलाई अनलाइन बिलको बारेमा केही थाहा नभएको र आफूहरुलाई दुःख दिनकै लागि यस्तो भएको होला ।’

प्रकाशित मिति : २० फाल्गुन २०७७ बिहिबार ००:००  ९ : ५९ बजे