७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा नागरिकको समान पहुँचमा जोड



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा शिक्षा, स्वास्थ्य, आवास लगायत आधारभूत आवश्यक्तालाई ब्यविस्थत पार्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । अझैपनि यहाँका नागरिकहरुको शिक्षा, स्वास्थ्यमा पहुँच नपुगेको भन्दै यस तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

अनौपचारिक सेवा केन्द्र इन्सेकले बुधबार आयोजना गरेको स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल कार्यक्रम अन्तरगत शिक्षा, स्वास्थ्य र आवासको अधिकार विषयक सार्वजनिक सुनुवाईमा बोल्दै सहभागीले उक्त कुरामा ध्यानाकर्षण बताएका हुन् ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका विभिन्न शाखा प्रमुखले नगरपालिकाले शिक्षा, स्वास्थ्य र आवास लगायतमा गरेका कार्यक्रम र त्यसको प्रभावकारीताबारे जानकारी गराएका थिए भने सहभागीले संचालित कार्यक्रम अन्तरगत विभिन्न सवाल राखेका थिए ।

कार्यक्रममा दिना सुबेदी कमालले शिक्षा, स्वास्थबारे विभिन्न सवाल राख्नुभयो । शिक्षा जस्तो पवित्र क्षेत्रमा पनि राजनीति गर्ने गरिएको तर्फ ध्यानाकर्षण गराउँदै यस तर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने उहाँले बताउनुभयो । विद्यालय बालमैत्री बनाउनुका साथै कक्षा १ देखि १० सम्म निशुल्क खाजाको ब्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

वाणगंगा नगरपालिकाले स्वास्थ्य सम्बन्धी फरक नीति लिदै सबै नागरिकको स्वास्थ्यमा समान पहँुचमा जोड दिन आग्रह गर्नुभयो । यसका साथै स्वास्थ्य चौकीमा पनि पर्याप्त औषधीको ब्यवस्था गर्नुपर्ने बताउनुभयो ।

सोही कार्यक्रममा सहभागी टोपकला, विसी लगायतले बोल्दै छाडा पशुपन्छीको ब्यवस्थापन गर्नुपर्ने, तरकारी जन्य वस्तुमा बढी रहेको विषदीको प्रयोग रोक्न तर्फ नगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।

सहभागीले उठाएका प्रश्नको जवाफ दिदै नगर प्रमुख मंगल प्रसाद थारुले यहाँ उठेका विभिन्न समस्याहरुलाई सम्बोधन गर्न तर्फ आफुले पहलकदमी चाल्ने बताउनुभयो । नगरपालिकाको विकास प्रति चासो र रुची राख्ने सबैलाई धन्यवाद दिनुभयो ।

नगर उपप्रमुख चक्र अर्यालले नगरपालिकाको विकासका लागि सबैको हातेमालो आवश्यक रहेको भन्दै सहभागीको गुनासो सकेसम्म छिटो सम्बोधन गर्दै नगरपालिकालाई समृद्ध नगरपालिका बनाउन आफुहरु केन्द्रीत हुने बताउनुभयो ।

सार्वजनिक सुनुवाइमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, कृषि शाखा प्रमुख लेस बहादुर केसी, नगरपालिका उपसचिव बाबुराम भट्राई, पशु विकास प्रमुख राजकुमार तिवारीले आआफ्नो शाखाले गरेका कामहरुबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रम इन्सेक लुम्बिनी प्रदेश संयोजक सरस्वती मल्लको स्वागत मन्तब्य, मानव अधिकार समूह वाणगंगा नगर अध्यक्ष इन्दिरा भट्टराईको अध्यक्ष र इन्सेक प्रतिनिधी नन्दराम पौडेलको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७७ बिहिबार ००:००  ९ : ४६ बजे