७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

भैरव एफसीले जित्यो ‘प्रथम सूर्योदय कप’ को उपाधि, आयोजकको लज्जास्पद हार !



मायादेवी अनलाइन, चारनम्बर ।

प्रथम सूर्योदय खुल्ला फुटवल प्रतियोगिता’ को उपाधि भैरव एफसी नवलपरासीले जितेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ बुङचीस्थित सिद्धार्थ रंगशालामा बुधबार सम्पन्न फाइनल भीडन्तमा आयोजक सूर्योदय सामाजिक विकास संस्थामाथि ५–० को सानदार जित निकल्दै भैरवले उपाधिमाथि कब्जा जमाएको हो । आयोजकको यो हार प्रतियोगिताकै लज्जास्पद हार हो ।

भैरवको जितमा जर्सी नम्बर १७ का क्षितिज जिसी नायक बने । म्यान अफ दि म्याच उनले ३ गोल गरी ह्याट्रिक पुरा पनि गरे । उनले पहिलो हाफमा २ दोश्रो हाफमा १ गोल गरेका थिए । यस्तै अर्का खेलाडी जर्सी नम्बर ९ का अनुप गुरुङले पनि २ गोल गरेका थिए ।

सुरुदेखि नै गोल गर्ने प्रयास गरे पनि आयोजकले कुनै बललाई जाली चुमाउन सकेन र निरास हुँदै उप-विजेतामा सिमिति हुन पुग्यो । पटकपटक प्रयास गरे पनि सूर्योदयले एकपटक पनि भैरवका रक्षा पङ्तिलाई तोडेर गोल गर्ने मौका पाएन । उपाधि भीडन्तमा भैरवका गोल किपर प्रदिप भण्डारीले केही उत्कृष्ट प्रहारहरु बचाएका थिए ।

च्याम्पियन भैरवले उपाधि स्वरुप १ लाख १ हजार १ सय ११ रुपौयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र पायो भने उपविजेतामा चित्त बुझाउन बाध्य सूर्योदयले ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र पायो ।

विजेताहरुलाई प्रमुख अतिथि मंगलप्रसाद थारु, वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, संस्थाका अध्यक्ष सरोज सेन लगायतले पुरस्कारले सम्मानित गर्नु भएको थियो । च्याम्पियन भैरवले एक गोल पनि नखाई प्रतियोगिता जित्यो । घरेलु मैदान र हजारौँ दर्शकको फाइदा आयोजकले उठाउन सकेन ।

प्रतियोगिताको उत्कृष्ट कोच भैरवका अंजन क्षेत्री बन्दा उत्कृष्ट खेलाडी भने सूर्योदयका रोशन सेन बने । यस्तै सर्वाधिक गोलकर्ता पनि आयोजककै सुरज हमाल (५ गोल) बने । यसै उत्कृष्ट मिड फिल्डर सुर्योदयका सवि गुरुङ, उत्कृष्ट गोल किपर भैरवका प्रदिप भण्डारी, उत्कृष्ट डिफेण्डर भैरवका केशव दर्लामी बनेका थिए ।

प्रतियोगितामा कपिलवस्तुसहित पाल्पा, रुपन्देही र नवलपरासीका टिम गरी १२ टिमले भाग लिएका थिए । कोरोना महामारीका कारण खेलाडीहरुका प्रतियोगिता रोकिएका र तिनलाई संचालन गरी नयाँ खेलाडी पहिचान गर्न प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष सरोज सेनले बताउनु भयो ।

संस्थाले अझ धेरै धनराशीसहित अर्को बर्ष पनि दोश्रो संस्करण राख्ने घोषणा पनि गरेको छ । यस्तै भेट्रान्सतर्फ हेल्थ क्लव प्रथम हुँदै खसी पायो भने बुधबार नै भएको अर्को मैत्रीपूर्ण खेलमा बाणगंगाको पत्रकार समूह विजयी भयो ।

पत्रकारले आयोजकमाथि १–० को जित निकालेका थिए । पत्रकारको जितमा अशोक पौडेलले निर्णयक गोल गरे । यो खेलका रमक मृगौला पीडितलाई सहयोग गरिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७ बुधबार ००:००  ७ : ४४ बजे