एजेन्सी ।
गोडामा लागेको चोटका कारण एसी मिलानका स्ट्राइकर जाल्टन इब्राहिमोविच तीन हप्तासम्म मैदान बाहिर हुने भएका छन् । यसको अर्थ युरोपा लिगमा म्यानचेस्टर युनाइटेडसँगको खेलमा उनी उपलब्ध हुने छैनन् ।
३९ वर्षीय इब्राहिमोविचले पूर्व क्लब म्यानचेस्टर युनाइटेडका लागि ५३ खेलमा २९ गोल गरेका थिए ।
उनी चोटका कारण आइतबार रोमालाई एसी मिलानले २–१ ले हराएको खेलमा ५६ औँ मिनेटमा मैदान बाहिर गएका थिए ।
युरोपा लिग अन्तर्गत अन्तिम १६ का दुई लेग मार्च ११ र १८ मा हुँदैछ । इब्राहिमोविचले यो सिजन अहिलेसम्म २१ खेलमा १६ गोल गरेका छन् ।
इटालियन सिरी ए मा एसी मिलान दोस्रो स्थानमा छ र शीर्ष स्थानको इन्टर मिलान भन्दा चार अंक पछि रहेको छ ।
प्रतिक्रिया