मायादेवी अनलाइन, चारनम्बर ।
प्रथम सूर्योदय खुल्ला फुटवल प्रतियोगिताको उपाधिको लागि नवलपरासी र कपिलवस्तु भीँड्ने भएका छन् । बाणगंगा नगरपालिका वडा नम्बर १ बुङ्चीमा आज (सोमबार) भएको दोश्रो सेमिफाइनलमा पाल्पाको न्यू युथ युनियनलाई २–० ले हराउँदै नवलपरासीबाट प्रतिनिधित्व गरेको भैरव एफसीले कपिलवस्तुबाट प्रतिनिधित्व गरेको आयोजक सूर्योदय सामाजिक विकास संस्थासंग उपाधि भेट पक्का गरेको हो । उपाधि भीडन्त सिद्धार्थ रंगशालामा पर्सी ( बुधबार ) दिउसो २ बजे हुने छ ।
तुलनात्मक रुपमा बलियो देखिए पनि पाल्पाले सोमबारको ‘गर या मर’ को खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । हावाको कारण प्रभावित खेलमा भैरव पहिलो हाफमै २–० को अग्रता कायम गर्न सफल भएको थियो ।
जर्र्सी नम्बर ७ का खेलाडी रोहित थारुले दुवै गोल गरका थिए । खेल सुरु भएको १० मिनेटमै थारुले गोल गर्दै टिमको आत्मविश्वास बढाएका थिए । १ गोलले पछि परेको स्थितिमा ३५ औँ मिनेटको समय पाल्पाको लागि फेरि घातक बन्यो । यतिखेर नवलपरासीले कर्नर पाएको थियो । कर्नरबाट आएको उत्कृष्ट बललाई थारुले नै उत्कृष्ट हेड गरी जालीको दिशा देखाइदिए पछि पहिलो हाफमा नवलपरासी २–० ले अघि रह्यो ।
दोश्रो आफमा लयमा आउन खोजे पनि पाएका पटकपटकका अवसर सदुपयोग हुन नसक्दा उपाधि दावेदार मानिएको पाल्पा निरास भई घर फर्कन बाध्य भयो । भैरवले क्वाटर फाइनलमा कोब्रा गाइजमाथि ६–३ गोल अन्तरले सनसनीपूर्ण जित हासिल गर्दा धेरैले पाल्पाले उपाधि खोस्ने लख काटेका थिए । तर सेमिफाइनल खेलमा पाल्पाका कुनै खेलाडी दर्शकको अनुमान अनुसार चल्न सकेनन् ।
आजको खेलमा २ गोल गरेका रोहित थारु म्यान अफ दि म्याच बने । उनलाई प्रमुख अतिथि वडा नम्बर १ का वडाध्यक्ष बाल कुमारी पन्त अधिकारीले ट्रफी दिनु भएको थियो । प्रतियोगितामा भोली भेट्रान्स खेल हुने संस्थाका अध्यक्ष सरोज सेनले बताउनु भयो । विजेताले नगद रु १ लाख १ हजार १ सय ११ पाउने छ भने उपविजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने खेलमा १२ टोलीले भाग लिएका थिए ।
प्रतिक्रिया