बिष्णु कुमार आले, अर्घाखाँची ।
जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर १ का ७८ बर्षीय रोमप्रसाद खनाल आजभोलि बस चढेर सदरमुकाम सन्धिखर्क बुटवल जान पाउँदा निकै खुसी हुनुहुन्छ ।
पहिला पहिला हप्तौं दिनको बाटो पैदल हिँडेर पथ्थरकोट, बुटवल, कृष्णनगर घ्यू बेच्न जाने र बर्षदिन पुग्ने लत्ताकपडा, नुन ल्याएर गुजारा चलाउँदै आउनुभएका उहाँ भन्नुहुन्छ, ‘बाच्नुपर्छ, सबै देख्न पाइँदो रहेछ । अहिले घर घरमा बस आउँदा आफूलाई निकै खुसी लागेको छ ।’
२०१७ सालमा कृष्णनगर पुगेर आफूले गाडी देखेको स्मरण गर्दै खनालले भन्नुभयो, ‘अहिले जे चाहिए पनि घरैमै गाडीले ल्याएको छ ।’
७३ बर्षीय धनिश्वर खनालले गाडी देख्न कृष्णनगर जानू पर्दथ्यो, अहिले आफ्नो गाँउमा बस देख्न पाउँदा निकै खुसी छु भन्नुहुन्छ ।
उहाँले भन्नुयो, ‘आफूले विगतमा दुःख कष्ट पाएको सँम्झिदा विरक्त लागेर आउँछ तर घरमै गाडी आउँदा अहिलेका नयाँ पुस्तालाई दुःख के हो थाहा छैन् ।’७१ वर्षीय माधव खनालको खुसी पनि उस्तै छ । सबै सुःख घरमै आएकाले मन खुसी भएको उहाँले बताउनुभयो । पहिलो पटक गाउँमा बस आउँदा खुसीले बन्चेबाजा बजाएर स्थानीय छमछमी नाचेका थिए ।
भूमिकास्थान–१ साम्नेगाउँको छेंडापोखरी बस पुगेको खुसियालीमा स्थानीयले बाजागाजासहित बस चालक र सहचालकलाई फूलमाला र अबिर लगाई दिएका थिए ।
२०६१ सालमा स्थानीयले कोदालोले बाटोको ट्र्याक खनी जिप सेवा सञ्चालन भएको साम्नेगाउँमा १५ वर्षपछि पहिलो बस पुगेपछि यहाँका स्थानीय हर्षित भएका हुन् । वडा नम्बर १ को डाँडा–धपखोला–छेडापोखरी–बगैंचा–साम्नेगाउँ–ओखते र प्युठानको मल्लरानी गाउँपालिका वडा नम्बर–२ का सिउते–सिउडेनी–बाख्खोरका जनता प्रत्यक्ष लाभान्वित भएका छन् ।
अझ बढी सहयोग गर्छौंः नगर प्रमुख थापा
नगरकै वडा नम्बर १० पाकुमा ट्याक खनेको २५ वर्षपछि पहिलो पटक बस गाउँमा पुगेपछि स्थानीय निकै खुसी छन् । नगर प्रमुख रेशम थापाले रिवन काटेर सडक उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा सम्बोधन गर्दै नगर प्रमुख थापाले साँघुरो सडकलाई अझ फराकिलो बनाउने, नियमित बस सञ्चालन गर्ने र सडकलाई कालोपत्रे गर्ने योजना अनुरूप नगरपालिका अगाडि बढेको बताउनुभयो ।
नगरको सबै वडामा बाटो पुगेको छ । अब नगरको योजना भनेको सडकको स्तरोन्नति कालोपत्रे गर्ने रहेको नगर प्रमुख थापाले बताउनुभयो । वडा अध्यक्ष खगिश्वर पन्थीले धेरै जनताको अथक प्रयासबाट गाँउमा बस ल्याउन सफल भएको बताउनुभयो ।
वडा तथा नगरपालिकाको करिब एक करोड पचास लाखको लागतमा डेवा–पुत्के,डोढुवा –रातामाटा हुँदै पाकु गाउँसम्म पहिलो पटक बस ल्याइएको हो ।
स्थानीय प्रेम शर्माले बिकासले गति लिँदा एक युगको अन्त्य भएको बताउनुभयो । २०५३ सालमा गाउँलेले कोदालोले खनेर ट्याक खोलेका थिए ।
प्रतिक्रिया